
काठमाडौं, ५ असोज गते ।
युएईमा जारी एशिया कप क्रिकेटअन्तर्गत सुपर फोर चरणको पहिलो खेलमा बंगलादेशले बलियो टोली श्रीलंकालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। शनिबार राति सम्पन्न रोमाञ्चक खेलमा बंगलादेशले ४ विकेटको शानदार जित निकाल्दै अंक तालिकामा महत्वपूर्ण २ अंक जोडेको छ।

श्रीलंकाले दिएको १६९ रनको चुनौतीपूर्ण लक्ष्य बंगलादेशले निर्धारित २० ओभरको अन्तिम बलअघि ६ विकेटको क्षतिमा पूरा गर्यो। खेलको अन्तिम ओभरसम्म दुवै टोलीबीच बराबरी जस्तै प्रतिस्पर्धा चले पनि अन्तिम क्षणमा बंगलादेशका ब्याटरहरुले दबाब झेल्दै टोलीलाई जित दिलाए।
बंगलादेशका ओपनर सैफ हसनले उत्कृष्ट ६१ रनको अर्धशतक प्रहार गर्दै जितको आधार तयार पारे। उनीसँगै युवा ब्याट्सम्यान तोहिद रिदोएले आक्रामक तरिकाले खेल्दै ५८ रनको योगदान दिए। कप्तान लिटन दासले पनि २३ रन बनाएर टोलीलाई सघाए।
बलिङतर्फ श्रीलंकाका वानिन्दु हसरंगा र दशुन शनकाले २–२ विकेट लिए भने, नुवान थुसारा र दुश्मान्था चमिराले १–१ विकेट लिए। तर उनीहरूको मेहनतले पनि श्रीलंकालाई जित दिलाउन सकेन।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रनको योगफल खडा गरेको थियो। श्रीलंकाका कप्तान दशुन शनकाले अविजित ६४ रनको शानदार इनिङ खेले। साथै, कुसल मेन्डिसले ३४ रन, पथुम निसान्काले २२ रन र चरिथ असलङ्काले २१ रन बनाए।
बंगलादेशका बलरहरूमध्ये मुस्तफिजुर रहमान सबैभन्दा सफल रहे जसले ३ विकेट लिए। उनीसँगै मेहदी हसनले २ तथा तास्किन अहमदले १ विकेट हात पारे।
यो जितसँगै बंगलादेशले समूह चरणमा श्रीलंकासँग बेहोरेको हारको बदला लिँदै सुपर फोरमा विजयी सुरुवात गरेको छ। यससँगै बंगलादेशले अंक तालिकामा अग्रता लिएको छ।
