एभरेस्ट महिला भलिबल लिग अनिश्चितकालका लागि स्थगित, सबै विदेशी खेलाडी स्वदेश फर्किए

काठमाडौं, भदौ २९ गते ।

दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग अनिश्चितकालका लागि स्थगित भएपछि प्रतियोगितामा सहभागी भएका विदेशी खेलाडीहरू स्वदेश फर्किएका छन्। पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक अस्थिरता, कफ्र्यु र निषेधाज्ञाका कारण लिग रोकिएको हो।

प्रतियोगिताको आयोजक इन्फिनिटी ड्रिम्स प्रा.लि. ले अर्को सूचना जारी नहुँदासम्मका लागि लिग स्थगित गरेको जनाएको छ। लिग निर्देशक जगदीश भट्टका अनुसार, “हामीले बिहीबारदेखि नै विदेशी खेलाडीलाई स्वदेश फिर्ता पठाउन थालेका थियौं। शनिबार रातिसम्म सबै खेलाडी फर्किसकेका छन्।”

राजनीतिक अस्थिरतापछि विदेशी खेलाडी केही समय पोखरामै अड्किएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा उनीहरू काठमाडौं आउन सकेका थिएनन्। स्थिति केही सहज भएपछि उनीहरूलाई काठमाडौं ल्याइएर स्वदेश फर्काइयो।

१० देशका १८ विदेशी खेलाडी सहभागी

दोस्रो संस्करणको लिगमा १० विभिन्न देशका १८ विदेशी खेलाडी सहभागी थिए। थाइल्यान्डबाट ५, नेदरल्यान्ड्सबाट ३, रुस र ब्राजिलबाट २/२ तथा अमेरिका, क्रोएसिया, ग्रिस, रोमानिया, बुल्गेरिया र किर्गिस्तानबाट १/१ खेलाडी नेपाल आएका थिए।
यसपटक भारतका कुनै खेलाडी सहभागी थिएनन्, जुन अघिल्लो संस्करणमा थिए।

लिगका ९ खेल सम्पन्न, ६ खेल र फाइनल बाँकी

पोखराको बहुउद्देशीय कभर्डहलमा जारी प्रतियोगिताको लिग चरणका ९ खेल सम्पन्न भइसकेका छन्। अब ६ खेल र फाइनल खेल बाँकी रहेका छन्। प्रतियोगितामा सहभागी छवटा फ्रेन्चाइज टोलीहरू हुन्:

  • कर्णाली यशबिस
  • ललितपुर क्विन्स
  • मधेस युनाइटेड
  • काठमाडौं स्पाइकर्स
  • लुम्बिनी लाभाज
  • पोखरा निन्जाज

यसपटक गण्डकी थन्डर्स र चितवन शक्तिको स्थानमा क्रमश: पोखरा निन्जाजलुम्बिनी लाभाज सहभागी भएका थिए।

प्राविधिक टोली अझै पोखरामै

खेलाडी फर्किए पनि भारतबाट आएका प्राविधिक टोली र उपकरणहरू भने पोखरामै रहेका छन्। “अब सोमबार बस्ने विशेष बैठकमा प्रतियोगिता अगाडि बढाउने या रद्द गर्नेबारे निर्णय लिइनेछ,” निर्देशक भट्टले बताए।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ