नेपालगन्जमा तय भएको १० नाइट रन स्थगित, धावक निराश

काठमाडौं, भदौ २९ गते ।

नेपालगन्ज, असोज ३ गते नेपालगन्जमा आयोजना हुने भनिएको नेपालगन्ज १० नाइट रन स्थगित भएको छ । देशको विषम परिस्थितिका कारण अर्को सूचना नआएसम्मका लागि प्रतियोगिता स्थगित गरिएको आयोजक समितिले जनाएको छ।

आयोजक धारा नेपालगन्ज म्याराथनले भर्चुअल बैठकमार्फत नाइट रन रोक्ने निर्णय गरेको हो। विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (AIMS) को पूर्णकालीन सदस्यता लिएपछि यसपटक पहिलोपटक आधिकारिक रूपमा नाइट रन आयोजना गर्न लागिएको थियो।

धावकलाई असुविधाप्रति क्षमायाचना

आयोजकका अनुसार हालसम्म करिब डेढ सय धावकले अनलाइन फाराम भरेर सहभागिताको तयारी गरेका थिए। विभिन्न स्थानबाट दौडसम्बन्धी जानकारीका लागि सोधपुछ भइरहेको बेला कार्यक्रम रोक्नुपर्दा आफूहरू दुःखी भएको आयोजक समितिले जनाएको छ।
‘धेरै धावक उत्साहित हुनु भएको थियो, तर बाध्यतावश स्थगित गर्नुपर्‍यो। उपयुक्त समयमा नाइट रनलाई निरन्तरता दिनेछौँ,’ AIMS का नेपाल प्रतिनिधि तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए।

विजेतालाई अन्तर्राष्ट्रिय अवसर दिने तयारी

यसवर्षको नाइट रन विशेष महत्वको थियो। AIMS को पूर्णकालीन सदस्य बनेसँगै नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्यान्डको बाङ्सेनमा हुने विश्वस्तरीय सडक दौडमा सहभागी गराउने तयारी थियो। यसले नेपाली धावकलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत हुने सुवर्ण अवसर दिने आशा गरिएको थियो।

अन्य प्रतियोगिताको तयारी तीव्र

नाइट रन स्थगित भए पनि आयोजक टिमले अब असोज २८ गते हुने गौघाट ग्रीन रन र मंसिर ६ गते हुने धारा नेपालगन्ज म्याराथन को तयारीलाई तीव्रता दिने जनाएको छ। साथै स्थानीय स्तरमा सरसफाइ र सामाजिक अभियानमा पनि टिम सक्रिय रहनेछ।

म्याराथनको पृष्ठभूमि

नेपालगन्ज म्याराथन २०७२ सालमा सुरु भएको हो। त्यतिबेला देशमा संविधान घोषणाको तयारी भइरहेका बेला मधेस आन्दोलनका नाममा साम्प्रदायिक तनाव र समाज विभाजनको खतरा देखिएपछि समुदायलाई एकजुट बनाउने उद्देश्यले यो म्याराथन सुरु गरिएको थियो।

यस म्याराथनले जात, धर्म, पेशा, व्यवसाय र उमेरसमूहलाई एउटै मञ्चमा ल्याउने अद्वितीय प्रयास गर्दै आएको छ। ११ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको धारा नेपालगन्ज म्याराथन नेपालकै शीर्ष इभेन्टका रूपमा स्थापित भएको छ। साथै, नेपालगन्ज AIMS को दुईवटा इभेन्ट पूर्णकालीन सदस्य बन्ने सम्भावित नेपालको पहिलो शहर बनेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ