काठमाडौं, भदौ २९ गते ।
एशिया कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत गएराति भएको एक रोमाञ्चक खेलमा श्रीलङ्काले बङ्गलादेशलाई ६ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। बङ्गलादेशले प्रस्तुत गरेको १४० रनको लक्ष्य श्रीलङ्काले १४ ओभर ४ बलमै चार विकेटको क्षतिमा पुरा गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको हो।

श्रीलङ्काको जीतमा ओपनर पथुम निसानकाले महत्वपूर्ण भूमिका खेले। उनले ५० रनको अर्धशतकीय योगदान दिँदै इनिङलाई मजबुत आधार दिएका थिए। त्यस्तै, कामिल मिश्राले अविजित ४६ रनको संयमित पारी खेलेर टोलीलाई सहज जित दिलाए। बलिङतर्फ बङ्गलादेशका महेदी हसनले दुई विकेट लिए भने तन्जिम हसन साकिब र मुस्ताफिजुर रहमानले समान एक-एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। बङ्गलादेशका शमीम हुसेनले ४२ रनको उत्कृष्ट पारी खेले भने जाकर अलीले अविजित ४१ रन बनाएर टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याए।
श्रीलङ्काको बलिङ आक्रमणमा वानिन्दु हसराङ्गाले सबैभन्दा प्रभावशाली प्रदर्शन गरे। उनले २ विकेट हात पार्दा नुवान तुषारा र दुष्मन्थ चमेराले एक-एक विकेट लिएका थिए।
आजको रोचक भिडन्त : भारत र पाकिस्तान आमनेसामने
एशिया कपको समूह चरणमा आज क्रिकेटप्रेमीहरूका लागि निकै प्रतीक्षित खेल हुन गइरहेको छ, जहाँ क्रिकेटका दुई चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुनेछन्। समुह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान छन् भने समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगितामा जम्मा आठ टिम सहभागी छन्। एशिया कप टी–२० को फाइनल खेल आगामी सेप्टेम्बर २८ (असोज १२) मा हुने तय भएको छ।