
पोखरा, भदौ १६, २०८२ – वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) सुरु हुनु अघि, पोखराको लेकसाइडमा भदौ १९ गते दिउँसो ४ बजे टिम राजेश र टिम धनराजबीच दर्शनी भलिबल खेल आयोजना हुने भएको छ।
यो खेलमा नेपालका चर्चित अभिनेता राजेश हमाल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले टिमको endorsement गर्नु भएको छ। खेलमा चर्चित कलाकार, विदेशी खेलाडी र EWV फ्रेन्चाइज टिमका मुख्य खेलाडीहरू सहभागी हुनेछन्।
हरेक टिममा १२ खेलाडी रहनेछन्, जसमा EWV फ्रेन्चाइज टिमका टिम एम्बासेडर, मुख्य खेलाडी, विदेशी खेलाडी, पोखरा आधारित स्थानीय इन्फ्लुएन्सर, र पोखरामा भलिबलसँग सम्बन्धित व्यक्तिहरू समावेश हुनेछन्। यो दर्शनी खेलले मनोरञ्जन, प्रतिस्पर्धा र स्टार पावरको मिश्रण प्रस्तुत गर्दै दर्शकलाई लिगको उत्साह र तिव्रताको पूर्वावलोकन दिनेछ।
कलाकार सहभागितामा आना शर्मा, सनी शा भट्टराई र आदिती बुढाथोकी रहेका छन् भने मुख्य खेलाडीहरूमा अन्जना शाही, गति पुन, सलिना श्रेष्ठ, निता ठगुना, सुमित्रा रेमी, र उषा भण्डारी छन्। साथै, आना टिमका विदेशी खेलाडीहरू पनि सहभागी हुनेछन्। पोखरा आधारित साना इन्फ्लुएन्सरहरूले पनि दर्शनी खेललाई थप रोचक र सहभागीमूलक बनाउनेछन्।
वात्सल्य एभरेस्ट महिला भलिबल लिग भदौ २०–२८, २०८२ मा पोखराको बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने छ। यो एसियाको पहिलो महिला फ्रेन्चाइज भलिबल लिग हो, जसमा ६ प्रतिस्पर्धी टिम र ९ देशका १८ विदेशी खेलाडीहरू सहभागी हुनेछन्। यसले नेपाल र एसियामा महिला पेशागत भलिबलका लागि ऐतिहासिक प्लेटफर्म तयार गर्नेछ।
यो दर्शनी खेलले लिगको उद्घाटनको माहोल मात्र तयार पार्दैन, तर महिला भलिबलको बढ्दो लोकप्रियतालाई पनि उत्सवपूर्वक प्रस्तुत गर्दै, पोखरामा खेलकुद, मनोरञ्जन र सामुदायिक सहभागिता वृद्धि गर्नेछ।