
काठमाडौं, भदौ १४ गते ।
भण्डारी सेवा समाज नेपालले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई सम्मान गरेको छ।
समाजले राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी साम्बालाई नगद ५१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो। कार्यक्रममा भण्डारी सेवा समाजका अध्यक्ष वीरबहादुर भण्डारी, माननीय पूर्वमन्त्री बन तथा बातावरण मसिना भण्डारी, महासचिव राधाकृष्ण भण्डारीसहितका अतिथिहरूले संयुक्त रूपमा सम्मान गरेका थिए।
कार्यक्रममा बोल्दै वक्ताहरूले सावित्रा भण्डारीले नेपालको महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै, उनको अनुशासन, समर्पण र खेलप्रतिको प्रतिबद्धता भावी पुस्ताका खेलाडीहरूका लागि प्रेरणादायी भएको बताएका थिए। साथै, यस्ता खेलाडीलाई निरन्तर प्रोत्साहन र समर्थन गर्नुपर्नेमा जोड दिइयो।
सम्मान ग्रहण गर्दै कप्तान सावित्रा भण्डारीले संस्थाप्रति आभार प्रकट गर्दै नेपाली महिला फुटबललाई अझै माथि पुर्याउन आफू निरन्तर मेहनत गर्ने बताइन्।
भण्डारी सेवा समाज नेपालले खेलकुद, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई समय–समयमा सम्मान गर्ने परम्परा कायम गर्दै आएको छ।