
काठमाडौं, भदौ १२ गते ।
नेपाल साउथ अस्ट्रेलिया (एसए)सँगको दोस्रो अभ्यास टी-२० खेलमा फेरी पनि पराजित भएको छ । बिहीबार भएको दोस्रो अभ्यास खेलमा नेपाल ३ रनले पराजित भएको हो ।
साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारीत २०ओभरको समाप्तीमा १५७ रनमा अलआउट भयको हो । नेपालका लागी रुपेश सिंहले १९ बलमा ३७ रन तथा लोकेश बमले २६ बलमा ३२ रन बनाए। नेपाल ८२-६ को अवस्थामा हुँदा यी दुई मिलेर अर्धशतकीय साझेदारी गरेता पनि नेपाललाई जित भने दिलाउन सकेनन् ।
रुपेश र लोकेश दुवै १९औं ओभरमा क्याच आउट भएका थिए । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा करण केसी स्ट्राइकमा भएपनि उनी पनि क्याचआउट भए । त्यसपछि शाहब आलमले एक चौका प्रहार गरेर अन्तिम बलमा ४ रन आवश्यक हुँदा शाहब बोल्ड भए । त्यसअघि पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाउँदै नेपाललाई १६१ रनको लक्ष्य दिएको थियो ।
साउथ अस्ट्रेलियाका रायन किङले सर्वाधिक ३९ रन बनाए । डानियल ड्रिउ र ह्यारी मानेन्तीले समान २९ रन बनाए ।
नेपालका करण केसी, शाहब आलम र रुपेश सिंहले २-२ विकेट लिँदा कुशल भुर्तेल र करण केसीले १-१ विकेट मात्र लिए ।
यसअघि आजै विहान भएको पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।
टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले मंगलबार भएको दुवै अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो ।
टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो । अब नेपालले शनिबार साउथ अस्ट्रेलियासँगै एकदिवसीय अभ्यास खेल खेल्नेछ।