३१औं कार्यसमिति बैठक अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न

काठमाडौं, भदौ ६ गते ।

जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को ३१औं कार्यसमिति बैठक शुक्रबार अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले हालै घोषणा गरिएको भनिएको नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिको विषयमा पनि निर्णय गरेको छ। बैठकले ओलम्पिक बडापत्र र नेपालको खेलकूद विकास ऐन २०७७ विपरीत घोषणा गरिएको ९ सदस्यीय तदर्थ समितिका सदस्यहरूमध्ये कमिटीको विधानअनुसार सम्बन्धित रहेका व्यक्तिहरूलाई ७ दिनभित्र जवाफ पेश गर्न स्पष्टिकरण माग गर्ने निर्णय गरेको छ । साथै, सो सम्बन्धी पत्र अन्तर्राष्ट्रिय निकायहरूलाई समेत बोधार्थ पठाउने निर्णय गरिएको छ ।

यसैगरी, अनधिकृत रूपमा प्रयोग गरिएको नेपाल ओलम्पिक कमिटीको लोगो, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी), ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) र एसोसिएसन अफ नेसनल ओलम्पिक कमिटी (एएनओसी)का लोगो तथा ओलम्पिक भवनको प्रयोग तत्काल रोक्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय भएको छ। बैठकले सरकारसँग पनि आधिकारिक ओलम्पिक भवनको प्रयोग सुनिश्चित गर्न आग्रह गर्ने निर्णय गरेको छ । सो भवन आईओसी र ओसीएको पूर्ण सहयोगमा निर्माण भएको हुँदा यसलाई जीवनराम श्रेष्ठ नेतृत्वको आधिकारिक ओलम्पिक कमिटीले प्रयोग गर्न सहज बनाउनेतर्फ सरकारलाई पत्राचार गर्ने उल्लेख गरिएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ