थन्डरबोल्ट्स डेभलपमेन्ट (एनएसएफएल) यु–१८ नेपाल स्कुल फुटबल लिग हुने

काठमाडौं, साउन १४ गते ।

थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा यहि साउन १९ गते (शनिबार) देखि नेपाल स्कुल फुटबल यु–१८ लिग (एनएसएफएल) सुरु हुने भएको छ। यस प्रतियोगिता आयोजककै मैदान ललितपुरको धापाखेलस्थित थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरमा सञ्चालन हुने भएकोछ।

यस लिगमा राजधानीका प्रतिष्ठित आठ स्कुलहरुले प्रतिस्पर्धा गर्नेछ। यस प्रतियोगितामा कान्जिरोवा स्कुल, जेम्स स्कुल, डिएभी स्कुल, चेल्सी वर्ल्ड स्कुल, लिटल एन्जल्स स्कुल, रातो बंगला स्कुल, काठमाडौं वर्ल्ड स्कुल र युलेन्स स्कुलहरुले सहभागी जनाउने भएको छ।

प्रतियोगिता भने राउण्ड रोबिनको फर्म्याटमा हुनेछ । जसअनुसार सबै टोलीहरूले एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। लिग चरणपछि शीर्ष चार टोलीले प्ले अफ चरणमा स्थान बनाउने छन्।
आयोजक संस्था थन्डरबोल्ट्सका कार्यकारी निर्देशक वरुण खड्काका अनुसार विजेता टिमले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
त्यस्तै, उपविजेताले २ लाख ५० हजार रुपैयाँ साथै व्यक्तिगत विधामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । जसमा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई समान ५० हजार रुपैयाँ प्रदान गरिनेछ । जुन अहिलेसम्मको स्कुल स्तरको फुटबलमा सबैभन्दा ठूलो पुरस्कार रहेकोछ।
थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर फुटबल मात्र होइन, स्विमिङ, टेनिस, फुटसल र ई–स्पोर्ट्स लगायतका गति विधिमा समेत नियमित प्रशिक्षण दिइरहेको संस्था हो। संस्थाका अनुसार निकट भविष्यमा क्रिकेट कार्यक्रम पनि सुरु गर्ने तयारी भइरहेको छ । जसले स्कुलस्तरीय खेल गतिविधिमा अझ व्यापकता ल्याउने अपेक्षा आयोजकले राखेकोछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ