
काठमाडौं, साउन ११ गते ।
नेपाल एथलेटिक्स संघको चुनाव रोक्न एथ्लेटिक्ससँग सरोकारवालाहरुले माग राखेका छन् ।
एथ्लेटिक्स संघविरुद्ध उच्च अदालत पाटनमा दायर रिटको फैसला र निष्पक्ष छानबिन सकेपछि मात्र निर्वाचन प्रकृया अगाडि बढाउनुपर्ने माग राख्दै गथ्लेटिक्स संघका पूर्व पदाधिकारीहरुले आईतबार पत्रकार सम्मेलन गरेका छन्।
एथ्लेटिक्स संघको निर्वाचन लागि राजीव विक्रम शाह संयोजक रहेको तदर्थ समिति बनाइएको थियो । उक्त तदर्थ समितिले यही साउन १४ गतेका लागि निर्वाचनको तयारी गरिरहेको छ।
यसअघि गठित तदर्थ समितिका सदस्यले आइतबार पत्रकार सम्मेलन गर्दै निर्वाचन स्थगित गर्न माग गरेका हुन् ।
२०८० जेठ ३० गते गठन भएको नेपाल एथलेटिक्स संघ, तदर्थ कमिटीका बहुमत सदस्यहरुले हालको एथलेटिक्स संघ तदर्थ समिति अबैधानिक भएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेको जानकारी दिएको हो ।
शाह संयोजक रहेको एथलेटिक्स संघ तदर्थ कमिटीले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार गर्नुपर्नेमा कानुन विपरित राष्ट्रिय खेलकुद परिषदबाट विधान स्विकृत नै नगराई देशका विभिन्न जिल्ला र प्रदेशहरुका पदाधिकारीहरुलाई भ्रम र प्रलोभनमा पारि अबैध कमिटी गठन गर्दै हिडिरहको आरोप समेत उनीहरुले लगाएका छन् ।