एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करण पोखरामा हुने

काठमाडौं, साउन ९ गते ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करण आगामी भदौ २९ गते पोखरामा गर्नेभएको छ ।

मञ्चले शुक्रबार राजधानीको याक एण्ड यति होटलमा एक कार्यक्रम आयोजना गर्दै यस वर्षको अवार्ड कार्यक्रम पोखरामा हुने जानकारी गराएको हो । पल्सर स्पोर्ट्स अवार्डको इतिहासमै पहिलो पटक अवार्ड कार्यक्रम उपत्यका बाहिर आयोजना गर्न लागेको हो । मञ्चका अध्यक्ष निरन्जन अधिकारीले यो पटक पोखरा भ्रमण वर्ष पनि भएकोले प्रायोजकसँगको सल्लाहमा पोखरामा अवार्ड गर्न लागेको जानकारी दिए । पल्सर अवार्डलाई यस पटक पृथक र भव्य बनाउने विश्वास रहेको पनि अध्यक्ष निरन्जन अधिकारीले जानकारी दिए ।

२०८१ सालभर नेपाली खेलकुदलाई उच्च स्थानमा पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिने भएको छ ।
स्पोर्टस अवार्डको २२औं संस्करणमा १० विधा समावेश गरिएको छ । जसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवाका साथै वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी इयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा समेत रहने छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गर्ने मञ्चले जनाएको छ । हरेक विधाको मनोनयनमा ५-५ जना रहने प्रावधान रहेकोछ ।

टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड बिधामा भने मनोनयन भने हुने छैन । सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिनमा हुनेछ ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी ५ विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले जनही १ लाख रुपैयाँ पाउने एनएसजेएफले जनाएको छ ।

यस्तै मञ्चले पल्सर स्पोर्ट्स अवार्डका लागि गोल्छा ग्रुपको पल्सर मोटरसाईकलसँग पाँच वर्षको सम्झाैता पनि नविकरण गरेको छ । सम्झाैतामा मञ्चका अध्यक्ष निरन्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले एककार्यक्रम बीच हस्ताक्षर गरे ।

सम्झाैता अनुसार यस वर्ष नगद मोटरसाईकल गरि ४० लाख बराबर सहयोग पल्सरले गर्ने अभिमन्यु गोल्छाले जानकारी दिए । साथै यस पटक ३३ प्रतिशतले वृद्धि भएको समेत गोल्छाले जानकारी दिए ।
अवार्डसँग पल्सरको यो लगातार १७ वर्षको सहकार्य रहेकोछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ