अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापान उसु ताइजी महासंघको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वर्ल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद रु ६५ लाख पुरस्कार–प्रमाणपत्र प्रदान गरे।

यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौं एसियन कबड्डी च्याम्पियनसिप (महिला) मा कास्य पदक विजेता खेलाडी मनमति विष्टसहितलाई रु एक लाख ५० हजारका दरले पुरस्कार दिए।

त्यसैगरी, गत असोज २० देखि २६ गतेसम्म श्रीलंका भलिबल संघको आयोजनामा श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई रु तीन लाखका दरले पुरस्कार दिए।

उनीहरूलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्था अनुसार यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो ।

त्यस्तै, यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिंगापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ