
राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजु काजी शाक्य र राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही शरद चन्द्र शाह मेमोरियल फाउन्डेसन स्पोर्टस अवार्ड २०२५ बाट सम्मानित भएका छन्।
शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनले आयोजना गरेको अवार्डसहित शाक्य र शाही दुवैलाई समान २ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ।
फाउन्डेसनकी अध्यक्ष तथा स्वर्गीय शरद चन्द्र शाहकी पत्नी रेणु शाहले उनीहरुलाई सम्मान गरिन्।
शाक्यले खेलाडी, कप्तान र प्रशिक्षकका रुपमा दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक दिलाएका थिए सन् १९८१ देखि १९९७ सम्म उनले राष्ट्रिय टोलीबाट खेले। खेल जीवन पछि उनले प्रशिक्षकको रुपमा फुटबल खेललाई निरन्तरता दिए। उनले राष्ट्रिय फुटबल टोली प्रशिक्षकको जिम्मेवारी पनि सम्हालेका थिए। यीनै योगदानको कदर गर्दै फाउन्डेसनले उनलाई सम्मान गरेको हो।

अरुणाले दशक भन्दा बढी समय भलिबलमा बताइसकेकी छिन्। सन् २०१९ देखि नेपाली टोलीको कप्तानको जिम्मेवारी सम्हाल्दै आएकी छिन्। उनकै नेतृत्वमा पछिल्लो समय नेपालले प्राप्त गरेको सबै खाले अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्दै आएको छ।
उनकै कप्तानीमा नेपालले सन् २०१९ मा बङ्गलादेशको मिरपुरमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगितामा स्वर्ण पदक जितेको थियो।

नेपालले जितेको त्यो पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि हो । सोही वर्ष काठमाडौंमा सम्पन्न १३औं सागमा नेपालले रजत पदक जित्दा पनि अरुणाले टोलीका लागि महत्वपूर्ण योगदान दिएकी थिइन्।
स्वर्गीय शाहले राष्ट्रिय खेलकुद परिषद (राखेप) को चौथो सदस्य सचिवको रुोमा २०३४ देखि २०४५ सालसम्म ११ वर्ष नेतृत्व सम्हालेका थिए। उनको कार्यकालमा नेपाली खेलकुदमा थुप्रै भौतिक संरचना बनेको थियो । साथै खेलाडीको लागि पनि उनको कार्यालय उल्लेखनिय रहेको थियो । यीनै आधारमा उनको कार्यकाललाई नेपाली खेलकुदको स्वर्णिम युग पनि भनिन्छ।
राखेपसँगै नेपाल ओलम्पिक कमिटीको नेतृत्व पनि सम्हालेका थिए। दक्षिण एसियाली खेलकुद र बृहत राष्ट्रिय खेलकुदको परिकल्पनाकार पनि स्वर्गीय शाह नै हुन्।
उनले नेपाली खेलकुदलाई दिएको योगदानको स्मरणमा उनको परिवारले यो अवार्ड कार्यक्रम आयोजना गरेको हो। गत वर्ष एथलेटिक्सका लिजेन्ड बैकुन्ठ मानन्धर र करातेकी एरिका गुरूङ यो अवार्डबाट सम्मानित भएका थिए।