काठमाडौंमा ‘प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप’ हुँदै

काठमाडौं महानगरपालिका–२२ को आयोजनामा ‘प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप २०८२’ यही असार ६ र ७ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने भएको छ।

‘व्यायाम गरौं, स्वस्थ रहौं’ भन्ने नाराका साथ आयोजना हुने यो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक वडाले जानकारी दिएको छ । पहिलो दिन तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रि-जजिङ र फाइनल खेल हुनेछ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्यमा तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिता पुरुषतर्फ मात्र सञ्चालन हुनेछ। आगामी वर्षदेखि महिलातर्फ पनि प्रतियोगिता सुरु गर्ने योजना रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता ६ तौल समूह — ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथि — मा सञ्चालन हुनेछ। प्रत्येक समूहका शीर्ष ५ खेलाडीलाई नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ। विजेताले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार र पाँचौंले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रत्येक समूहका विजेता खेलाडीहरू ‘मिस्टर महानगर’ को टाइटलका लागि ओभरअल प्रतिस्पर्धामा उत्रिनेछन्। ओभरअल विजेताले नगद ५ लाख रुपैयाँ, ट्रफी र ब्यानेट प्राप्त गर्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने यस प्रतियोगितामा शारीरिक सुगठन क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिनेछ।

वडा नं. २२ ले सामाजिक, सांस्कृतिक र खेलकुद क्षेत्रका विभिन्न गतिविधि गर्दै आएको छ। यसअघि सहीद सुरज स्मृति अन्तरवडा बुद्धिचाल प्रतियोगिता आयोजना गरिनुका साथै विद्यार्थीहरूलाई पौडी तालिम पनि दिइएको थियो।

प्रतियोगिताको उद्देश्य जनस्वास्थ्यमा सुधार ल्याउने, फिटनेसप्रति जनचेतना बढाउने र बडीबिल्डिङ खेलाडीहरूलाई राम्रो अवसर प्रदान गर्ने रहेको आयोजकको भनाइ छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ