सुविन श्रेष्ठ र रिहान्ना शेरचनले टोखा नगरपालिका र डिबीए राष्ट्रिय स्तरीय जुनियर यू१९ ब्याडमिन्टन प्रतियोगिताको यू१९ तर्फ प्रथम भएका छन् ।
टोखा नगरपालिका र डिबीए एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको यु१९ ब्वाइज तर्फ त्रिभूवन आर्मी क्लबका सुविनले सुनसरी ब्याडमिन्टन एकेडेमीका एन्ड्रियज लिम्बुलाई २१-१९ र २१-१७ को सोझो सेटमा हराउँदै स्वर्ण पदक जिते । यस विधामा इमा तामाङ र सुदेश राजकोटी तेस्रो भए ।

गर्ल्सतर्फको फाइनलमा आर्मीकी रिहान्ना शेरचनले लालिगुराँस स्कुलकी अस्मिता खत्रीलाई २१-१३ र २१-१३ ले हराइन् । निभा राई र प्रेन्सा श्रेष्ठ तेस्रो भए । यू१९ विधाका प्रथम हुनेले ट्रफी मेडल सहित २० हजार जिते भने दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार हात पारे ।
यस्तै यू१५ ब्वाइजतर्फ आर्मीका सुदेश राजकोटी पहिलो भए । उनले इमा तामाङलाई १६-२१, २१-१४ र २१-१८ ले हराए । कैलालीका आदित्य चौधरी र आर्मीका दीप थिङ तेस्रो भए । यू१५ गर्ल्सतर्फ निभा राईले समृद्धी श्रेष्ठलाई २१-१६ र २१-१६ ले हराउँदै स्वर्ण पदक जितिन् । अस्मिता खत्री र सविज्ञा दाहाल तेस्रो भए ।
यु१३ विधामा ब्वाइजतर्फ आर्मीका दिप थिङले आफ्नै क्लबका रिजन मगरलाई २१-१० र २१-१० को सोझो सेटमा हराउँदै पहिलो भए । रोजमेरी स्कुलका दियोन भण्डारी र एमबीबीएफका सक्षम गुरुङ तेस्रो भए । गर्ल्सतर्फ सुनसरीकी सविज्ञा दाहालले आर्मीकी अजरेन्का शेरचनलाई २१-१८ र २१-११ ले हराउँदै पहिलो भइन् । ग्यालेक्सी पब्लिक स्कुलकी अर्चना मगर र एपीएफकी आकृति कार्की तेस्रो भए ।
विजेता खेलाडीलाई नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ, नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिमा संयोजक सुभाष श्रेष्ठ , ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।
