
झापा — झापा जिल्लामा डजबल खेलको व्यापक विकास, प्रवर्द्धन र संस्थागत विस्तारलाई थप सुदृढ बनाउने उद्देश्यले झापा जिल्ला डजबल संघको तदर्थ समिति गठन गरिएको छ। नेपाल डजबल महासंघका तदर्थ समिति महासचिव अरुण तिमल्सिनाले जानकारी दिएअनुसार उक्त निर्णय गत जेठ ८ गते बसेको बैठकबाट गरिएको हो।
नवगठित समितिको संयोजकमा हेडम्बराज निरौला चयन भएका छन्। उनीसँगै समितिमा समीर पोखरेल, आरोग्य तिम्सिना, मोहम्मद जाहिर रहमान, रेखा देवी साफी, सन्ध्या कुमारी डंगोल र मन माया तिम्सिना सदस्यको रूपमा रहेका छन्।
संयोजक निरौलाले समिति गठनप्रति आभार व्यक्त गर्दै जिल्लामा डजबल खेलको पहुँच विद्यालयस्तरसम्म पु¥याएर युवा प्रतिभाको विकासमा योगदान दिने प्रतिबद्धता जनाएका छन्। समाजसेवा क्षेत्रका क्रियाशील व्यक्ति निरौला हाल ‘झापा जेसीज’का महासचिवको भूमिकामा समेत सक्रिय छन्।
महासचिव तिमल्सिनाका अनुसार, झापामा डजबलप्रतिको उत्साह र सहभागिता दिन–प्रतिदिन बढ्दै गइरहेकाले दीर्घकालीन योजनाअनुसार कार्य गर्न समिति आवश्यक भएको हो। नवगठित समितिबाट खेल संरचना निर्माण, प्रशिक्षण कार्यक्रम, जिल्ला तथा स्थानीयस्तरका प्रतियोगिता, र खेलाडी उत्पादनमा सार्थक भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ।
डजबल खेलमार्फत युवा क्षमता उजागर गर्दै झापालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमञ्चमा प्रतिनिधित्व गराउने दीर्घदृष्टिका साथ समितिले आफ्नो कार्ययोजना अघि बढाउने जनाएको छ।