दाबेदार त्रिभुवन आर्मी क्लब आठौं आरबीबी एनभीए भलिबल च्यामिपयनसिपको पुरुषतर्फको सेमिफाइनलमा पुगेको छ । चौथो तथा अन्तिम क्वाटरफाइनल बिहीबार खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै आर्मी सेमिफाइनल पुगेको हो । आर्मीले अब सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्ड हलमा भएको खेलमा आर्मीले सुदूरलाई ३–१ ले पराजित गरेको हो।
आर्मीले सुदूरपश्चिमलाई २५–१९, २५–२२, २५–२३, २५–१७ ले हरायो । पहिलो सेटमा आर्मीले सहज जित हात पारेको थियो । दोस्रो सेटमा सुदूरपश्चिमले सुरुवात देखि नै आर्मीलाई दबाबमा राखेको थियो । ३ अंकले पछि परेको आर्मीले १९–१९ बराबरी गरेको थियो । त्यसपछि भने सुदूरले २५–२२ मा रोक्दै सेट जित्दै १–१ को बराबरी गरेको थियो । तेस्रो सेटमा आर्मीले सुरुवातमा ७–२ को अग्रता लिएको थियो । तर सुदूरले उत्कृष्ट पूनरागमन गरेपछि १०–१० बराबरी गरेको थियो । त्यसपछि सेटमा कडा प्रतिस्पर्धा भएको थियो । २३–२३ को अवस्थाबाट आर्मीले लगातार दुई अंक जोड्दै सेट जित्दै २–१ ले अघि बढेको थियो । चौथो सेटमा भने आर्मीले सहज जितका साथ ३–१ ले खेल जितेको थियो । शुक्रबार पहिलो सेमिफाइनल खेल टिपटप हेल्प नेपाल र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्यसअघि पुलिसले कोशी प्रदेशलाई ३–० ले हराउँदै अन्तिम चारमा पुगेको हो ।
च्याम्पियनसिपको छैटौं दिन एकपक्षिय क्वार्टरफाइनलमा पुलिसले कोशीलाई २५–१३,२५–१६,२५–१३ ले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको थियो । त्यसअघि एभरेष्ट भलिबल क्लब र पुलिस क्लब महिलातर्फको फाइनलमा पुगेका थिए । चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई ३–० को सोझो सेटमा हराउँदै एभरेष्टले पुलिससँगको भेट पक्का गरेको हो । राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीसहित ३ भारतीय खेलाडी सम्मिलित एभरेष्टले न्यु डायमण्डलाई २५–२०,२५–१२, २५– हराएको हो । एपिएफलाई हराउँदै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको न्यु डायमण्डले एभरेष्टविरुद्ध भने कुनै पनि समय खेलमा प्रभाव जमाउन सकेन ।
अर्को सेमिफाइनलमा एपिएफलाई हराउँदै साविक पुलिस अन्तिम दुईमा पुगेको थियो । पहिलो सेमिफाइनलमा ३–१ को जितका साथ पुलिस उपाधि रक्षाको नजिक पुगेको हो । पुलिसले एपिएफलाई २७–२५,२५–२२,२५–१७ ले हराएको थियो । समूह चरणमा पुलिस र एभरेष्ट एकै समूहमा थिए । त्यसमा विजयी हुँदै पुलिस समूह विजेता र एभरेष्ट समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेका थिए । न्यु डायमण्ड र आर्मीबीच शुक्रबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फ हेल्प नेपाल, एपिएफ, पुलिस, आर्मीसँगै कोशी, सुदुरपश्चिम, बुढानिलकण्ठ र गण्डकी अर्काे वर्ष हुने आठौं एनभिए महिला तथा पुरुष भलिबल लिगको लागि छनोट भएका छन् । नेपाल भलिबल संघका अनुसार महिलामा शीर्ष ६ टोली र पुरुषमा शीर्ष ८ टोली लिगका लागि छनोट हुनेछन् । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
