
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ए’ ले मदन भण्डारी आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि हिजो जितेको छ । एकेडेमीले ११ स्वर्ण, ४ रजत र २ कांस्य जित्यो ।
ढल्कु तेक्वान्दो डोजाङ ४ स्वर्ण र ४ रजतसाथ दोश्रो भयो । तेश्रो स्थानको बुटवलले २ स्वर्ण, ५ रजत र ५ कांस्य हात पा¥यो । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १ लाख, ६० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा स्वयम्भूका प्रज्ज्वल पौडेल तथा महिलामा आयोजककी विपिना तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुवैलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरियो ।
विजेतालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा आचार्य, श्रेष्ठ र धामीलगायतलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
दुईदिने प्रतियोगितामा ४ सय ७९ खेलाडीले ग्योरोगी र पुम्सेमा गरी जम्मा ३६ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् ।