
काठमाडौं,
गैर आवासीय नेपाली, जापानका सुवर्ण कार्कीले चौथो विश्व क्योकुसिन तेजुका कराते च्याम्पियनसिपका रजत विजेता दावा शेर्पालाई नगदसहित सम्मान गरेका छन् ।
कार्कीले दावालाई व्यक्तिगत ५० हजार रुपैयाँ एक कार्यक्रमबीच प्रोत्साहन स्वरुप प्रदान गरे । जापानको फकुओकामा गत फेब्रुअरी २४ तारिखमा भएको प्रतियोगितामा दावाले पुरुष एकल कातामा रजत जितेका थिए ।
प्रोत्साहन पुरस्कार हस्तान्तरणपछि कार्कीले भने– ‘विश्व च्याम्पियनसिपमा पदक जित्नु चानचुने कुरा होइन । यो ऐतिहासिक उपलब्धि हासिल गरेकोमा तपाईं (दावा) लाई बधाई छ । तपाईंको सफलता पैसासंग तुलना गर्न मिल्दैन । यसलाई मेरोतर्फबाट सम्मान र प्रोत्साहन सम्झनु होला ।’
कार्कीले सोही प्रतियोगिताका दौरान भएको अन्तर्राष्ट्रिय कराते संगठन क्योकुसिनकाइ–कान (तेजुका समूह), जापानले आयोजना गरेको अन्तर्राष्ट्रिय डान ग्रेडिङ टेष्टबाट पाँचौं डान प्राप्त गर्न सफल नेपाल क्योकुसिन कराते (इको) संघका अध्यक्ष दमन बस्नेतलाई बधाई दिए ।
कार्यक्रममा अध्यक्ष बस्नेतले दावाले जितेको पदक नेपाली फुल कन्ट्याक्ट करातेको इतिहासमा अहिलेसम्मकै ठूलो सफलता भएको बताए ।
दावालाई सोही उपलब्धिका लागि नेपाल क्योकुसिन कराते (इको) संघले पनि गत चैत २८ गते २५ हजार नगदसहित सम्मान गरेको थियो ।
उक्त अवसरमा नेपाल क्योकुशिन कराते (इको) संघको अध्यक्ष दमन बस्नेतले व्ल्याक बेल्ट पाँचौ डान प्राप्त गरेकोमा बधाई तथा उपाध्यक्ष नन्द कुमार किरातीलाई संघको हितमा कार्य गरेको हुनाले वरिष्ठ उपाध्यक्ष पदमराज सुवेदीले विश्व च्याम्पियनसिपको ट्र्याकसुट उपहार दिनु भयो ।
त्यस अवसरमा इको संघको सचिव तथा प्रमुख प्रशिक्षक स्व. रोशन कपालीको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारणा गरिएको थियो ।
