नेपाल द्वारा कतार ८ विकेटले पराजित

हङकङमा सुरु भएको टी-२०आई क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेकोछ । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे।

आसिफ शेखले ३३ रन बनाउँदा बसिर अहमद ३० रनमा अविजित रहे । कतारका मुजीब उर रेहमानले २ विकेट लिए ।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनायो । कप्तान इक्रमुल्लाह खानले अर्धशतक बनाए । ५४ बलमा ५४ रन बनाएका उनले ५ चौका र २ छक्का प्रहार गरे । शाहजैब जमिलले ३१ तथा मुजीब उर रेहमानले अविजित २० र मुहम्मद इर्शादले अविजित १८ रन बनाएर फिनिस गरे ।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले एक एक विकेट लिए ।

पेस बलर नन्दन यादवले राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेको पहिलो खेलमै विकेट प्राप्त गरेका हुन् ।

नन्दन यसअघि एकदिवसीय टिममा परेपनि डेब्यू भने गर्न बाँकी छ । टी-२०आई टोलीमा परेको पहिलो खेलमै नन्दनले डेब्यूको मौका पाएका हुन् । यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेतको सहभागी रहेकोछ । नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेल्नेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ