राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी एपीएफ क्लबलाई

सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुर खेल मैदानमा शनिबार फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराएको थियो । प्रतिस्पर्धात्मक खेलमा एपीएफ र आर्मीले निर्धारित समयमा १–१ गोल गरेको थियो । खेलको १३ औं मिनेटमा आर्मीकी विमला चौधरीले गोल गरेकी थिइन् । आर्मी टिम अन्तिम ६ मिनेट सम्हालिन नसक्दा उपाधिबाट वञ्चित रहयो । ७५ औं मिनेटमा रश्मिकुमारी घिसिङले आकर्षक हेडर गोल गर्दै एपीएफलाई खेलमा फर्काइन् । बाँकी समयमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो ।

विजेता एपीएफले तीन लाख रुपैयाँसहित ट्रफी जितेको हो । उपविजेता आर्मीले १ लाख ५० हजार रुपैयाँ पुरस्कारमा चित्त बुझायो। एपिएफकी प्रीति राई प्लेयर अफ द म्याच भइन् । उनले १० हजार पाइन् । अर्का आर्मीकी चन्द्रा भण्डारी प्लेयर अफ द टुर्नामेन्ट भइन् । उनले ४० हजार रुपैयाँ प्राप्त गरिन् । साथै एपीएफकी सावित्री किसन उत्कृष्ट गोलरक्षक, आर्मीकी विमला बिक उत्कृष्ट डिफेन्डर, एपीएफकै रेनुका नगरकोटे उत्कृष्ट मिडफिल्डर, ८ गोल गरेकी एपीएफकी रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता र एपीएफका जीवेश पाण्डे उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरूले जनही २० हजार रुपैयाँ प्राप्त गरे । चितवन जिल्ला फुटबल संघले भरतपुर महानगरको प्रवर्द्धनमा प्रतियोगितामा आयोजना गरेको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ