युगाण्डासँग ४० रनले नेपाल पराजित

युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपालले चौथो हार व्यहोरेको छ । आज भएको खेलमा युगाण्डासँग ४० रनले पराजित भएसँगै नेपाल फाइनल होडबाट पनि बाहिरिएको छ ।

युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अलआउट भयो । कविता जोशीले सर्वाधिक १२ रन बनाइन् भने इन्दु बर्माले ११ रन बनाइन् । पाँचजना खेलाडीले खाता नै खोल्न सकेनन् । १ रनमै पहिलो विकेट गुमाएको नेपालले १५ रनमा दोस्रो तथा १७ रनमा तेस्रो र चौथो विकेट गुमाएको थियो भने ३० रन जोड्दा ६ विकेट गुमिसकेको थियो ।युगाण्डाका इमाकुलेट नाकिसुयीले ४ ओभरमा १० रन दिएर ३ विकेट लिइन् । इरेने मुटनीले ३ ओभरमा १० रन दिएर ३ विकेट लिइन् । जानेत माबाजी र कोन्सी लेटले १-१ विकेट लिए ।

त्यसअघि एन्टेबे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाउँदै ९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ रन बनाइन् । इस्थर इलोकुले २२ रन बनाइन् । स्टेफानी नाम्पिना १३ रनमा नटआउट रहिन् ।नेपालका लागि रिया शर्माले ४ ओभरमा १६ रन दिएर २ विकेट लिइन् । पुजा महतो, ईश्वरी विष्ट र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालको अब शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिएको छ । नेपालको ५ खेलमा २ अंक मात्र छ । युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ