
काठमाडौं । नेपाली मूलका रोशनराज पन्तलाई इलाइट न्यूज प्रा.लि.ले विशेष सम्मान प्रदान गरेको छ। पन्त माल्टाको फुटबल संघ (MFA) बाट मान्यता प्राप्त पहिलो नेपाली रेफ्री हुन्। यो ऐतिहासिक उपलब्धिले नेपाली खेलकुद समुदायका लागि गर्वको विषय बनेको छ।
रोशनराज पन्तले हालसम्म माल्टाका विभिन्न लिग तथा प्रतियोगितामा २०० भन्दा बढी खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन्। नेपाली खेलाडीहरू प्रायः खेलाडीका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा देखापर्ने गरे पनि, रेफ्रीको रूपमा उनले बनाएको इतिहास निकै प्रेरणादायी छ।
विशेष सम्मान कार्यक्रममा बोल्दै पन्तले नेपाल र युरोपेली देशहरूमा रहेको फुटबल संरचनाको तुलना गरे। “नेपालमा राष्ट्रिय टिममा देखिने अधिकांश खेलाडीहरू विद्यालय, स्थानीय फुटसल क्लब वा व्यक्तिगत प्रशिक्षणमार्फत अघि बढेका छन्। तर, युरोपेली मुलुकहरूमा खेलाडीहरू विशेष एकेडेमीबाट प्रशिक्षित भएर निस्कन्छन्,” उनले बताए।

उनको भनाइमा, नेपालमा स्तरीय फुटबल एकेडेमीको अभावका कारण खेलाडीहरू व्यवस्थित रूपमा विकास हुन सकेका छैनन्। उनले जोड दिँदै भने, “नेपालमा फुटबल संरचना अझै परिपक्व भइसकेको छैन। यदि अखिल नेपाल फुटबल संघ (ANFA) ले व्यवस्थित लिग संरचना अपनाएको भए, धेरै खेलाडीहरू विदेश जाने आवश्यकता नै पर्ने थिएन।”
पन्तको यो उपलब्धिलाई सम्मान गर्दै इलाइट न्यूज प्रा.लि.का अध्यक्ष अरुण तिमल्सिना, इलाइट फुटसलका अध्यक्ष श्याम कुमार श्रेष्ठ र प्रबन्ध निर्देशक रविन शाक्यले प्रशंसा प्रमाणपत्र प्रदान गरे। सम्मान समारोह काठमाडौंको इलाइट फुटसलमा आयोजना गरिएको थियो, जसमा खेलप्रेमी, प्रशिक्षक, तथा फुटबल क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
माल्टामा आफ्नो क्षमताको परिचय दिँदै नेपाली समुदायलाई गौरवान्वित गराएका रोशनराज पन्त नेपाली खेलकुद क्षेत्रका लागि प्रेरणाको स्रोत बनेका छन्। उनको सफलता भावी नेपाली रेफ्रीहरू तथा फुटबलप्रेमीहरूप्रति मार्गदर्शक बन्ने विश्वास गरिएको छ।
