अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबल हुने

नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सोमबारबाट अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप हुने भएको छ । बुधबारसम्म हुने प्रतियोगितामा ३२ टिम सहभागी हुनेछ । प्रतियोगितामा नेपालबाट २२ टिम सहभागी हुनेछन् । 

त्यस्तै, बंगलादेशबाट ४, भारतबाट ३ र पाकिस्तानबाट १ टिम सहभागी हुने बास्केटबल संघका महासचिव नरेन्द्र थापाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् । दुई टिमको टुंगो लाग्न बाँकी छ । महासचिव थापाका अनुसार नेपाली टिमले दुई जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । जसमध्ये १ खेलाडी मात्रै कोर्टमा उत्रने नियम रहेको छ ।

पहिलो संस्करण भव्य आयोजना भएपछि दोस्रो संस्करण आयोजना गरेको संघका अध्यक्ष भीम गुरुङले जानकारी गराए । 

थी बाई थ्री का कोअर्डिनेटर तथा केन्द्रीय सदस्य शरद विष्टले प्रतियोगिता सम्पन्न गर्न अनुमानित खर्च १२ देखि १५ लाख रुपैयाँ लाग्ने बताए।

संघका अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट कुनै सहयोग नभएको बताएका छन् । ‘हामीले यो सबै खर्च आफ्नो लागत र स्पन्सरकै सहयोगले गर्दैछौं । राखेपबाट कुनै सहयोग भएको छैन,’ गुरुङले भने, ‘राखेप सदस्य सचिव टङ्कलाल घिसिङले राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नु भन्नुहुन्छ । तर, हामी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा आधा मात्रै खर्च बेहोर्दिनुस् भनेको छौँ । तर, उहाँले दिनुहुन्न ।’

संघले प्रतियोगिताको अन्तिम दिन भारत र पाकिस्तानबीच मैत्रीपूर्ण खेल आयोजना हुने जनाएको छ । ‘हामीले नेपाली भूमी खेलकुदको लागि न्युट्रल भेन्यु हो भन्ने सन्देश दिनको लागि भारत र पाकिस्ताबीच अन्तिम दिन मैत्रीपूर्ण खेल आयोजना गर्दैछौं । यसमा दुवै टोलीको समर्थन रहेको छ ।’

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ