पूजा आइसिसी ‘टिम अफ द टुर्नामेन्ट’ मा पर्न सफल

नेपाली यु-१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतो आईसीसी यु–१९ महिला विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा पर्न सफल भएकी छिन् ।

आईसीसी यु-१९ महिला विश्वकप २०२५ आईतबार सम्पन्न भएको थियो । विश्वकप सम्पन्न भएलगत्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार ‘टिम अफ द टुर्नामेन्ट’ मा पर्न सफल १२ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

जसमा नेपालबाट पूजा पनि पर्न सफल भएकी हुन् । यससँगै पूजा आईसीसी यु-१९ महिला विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा पर्ने एसोसिएट राष्ट्रकी एक मात्र खेलाडी समेत बनेकी छिन् ।

उनकै कप्तानीमा नेपालले पहिलो पटक यु-१९ महिला विश्वकप खेलेको थियो । नेपाल लगातार तेश्रो हार व्यहोर्दै समूह चरणबाट नै बाहिरीएको थियो।

समग्रमा नेपाली टोलीको प्रदर्शन राम्रो हुन नसकेपनि पूजाको व्यक्तिगत प्रदर्शन राम्रो रहेको थियो । उनले प्रतियोगिताभर १४.३ ओभर बलिङ गर्दै एक मेडनसहित ६३ रन खर्चेर ९ विकेट लिएकी थिइन् ।

यस्तै ‘टिम अफ द टुर्नामेन्ट’मा भारतका ४, दक्षिण अफ्रिकाका ३, इङ्ल्यान्डका २ तथा अष्ट्रेलिया, नेपाल र श्रीलंकाबाट समान १ खेलाडी समावेश छन् । आईतबार भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ