महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत थाइल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ ।
आइतवार सिरिजमा लगातार तेस्रो जित निकाल्ने क्रममा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनको जित हात पारेको हो । थाइल्याण्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा अल आउट भयो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबेटी डि लिडेले सर्वाधिक २५ रन जोडिन् । आइरिस विलिङले १३ रन जोडिन् । क्यारोलिन डि ल्यासले १० रन जोड्दा अन्य अंकमा रन जोड्न सकेनन् ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरको १ बल रहँदै अल आउट हुदै ८६ रनमा समेटियो ।
थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । फन्नीता मायाले ३१ बलमा १२ रन जोडिन् । थाइल्याण्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेदरल्याण्ड्सका लागि आइरिस विलिङ, इभा लिच, सिल्भर सिर्गेसले समान २ तथा इसा बेल भान डरले १ विकेट लिइन् ।
नेदरल्याण्ड्सले थाइल्याण्डसँग लगातार दोस्रो हार बेहोरेको हो । नेदरल्याण्ड्समाथि पहिलो भेटमा थाइल्याण्डले ८ विकेटको सानदार जित हासिल गरेको थियो ।
महिला टि ट्वान्टी आई वरियतामा थाइल्याण्ड १३औं, नेदरल्याण्ड्स १६औं र नेपाल २०औं स्थानमा छ । सिरिजमा नेदरल्याण्ड्स र थाइल्याण्डका अलावा नेपाल पनि सहभागी रहेको छ ।
सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले चौथो खेलमा मंगलवार थाइल्याण्डसँग खेल्नेछ ।
