काठमाडौं माभरिक्स पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) को फाईनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बुधबार सम्पन्न दोश्रो क्वालिफायर खेलमा विराटनगर ब्यान्डिट्सलाई ४८-२६ ले हराउँदै काठमाडौं फाइनलमा पुगेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा काठमाडौंले २३-१५ को अग्रता बनाएको थियो। काठमाडौंले अब उपाधिका लागि जनकपुर नाईट्ससँग प्रतिस्पर्धा गर्नेछ ।
जनकपुर नाईट्स सोमबार भएको पहिलो क्वालिफायर खेलमा विराटनगर ब्यानडिट्सलाई हराउँदै फाइनलमा पुगेको थियो।
लिग चरणमा शीर्ष स्थानमा रहेको जनकपुर र दोश्रो स्थानमा रहेको विराटनगरले पहिलो क्वालिफायर खेलेको थियो । पराजित विराटनगरले पुन: फाइनल प्रवेशका लागि काठमाडौंसँग दोश्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।
सोमबार नै भएको इलिमिनेटर खेलमा धनगढी वाइल्डक्याट्सलाई हराउँदै काठमाडौं माभरिक्स दोश्रो क्वालिफायरमा प्रवेश गरेको थियो । अब काठमाडौं र जनकपुरबीचको फाइनल खेल शुक्रबार हुनेछ ।
