कृष्ण प्रसाद भट्टराई स्मृति कराते अर्को महिना

नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजना अर्को महिना चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ।

प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

प्रतियोगिता सातदोबाटो स्थित नेपाल कराते एकेडेमी फागुन १६ देखि १८ गतेसम्म हुनेछ। महिला र पुरुषमा गरि १७ वटा इभेन्ट प्रतियोगितामा समावेश गरिएको छ।

प्रतियोगितामा सात वटै प्रदेशका र ३ विभागीय (सेना, प्रहरी, एपिएफ) गरि २ सय १० खेलाडी सहित ४० जना अफिसियल तथा विभिन्न ५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुले सहभागिता रहने आयोजक डोजोको उपाध्यक्ष दयाराम महर्जनले बताएका हुन्।

प्रतियोगितामा ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र त्यसमा गोदावरीले २० लाख रुपैयाँ उपलब्ध गराइने छ।

कुमुतेमा महिलातर्फ ४५, ५०,५५,६१,६८ केजी मुनि, ६८ केजी माथि तथा पुरुषतर्फ ५०, ५५,६०,६७,७५,८४ केजी मुनि र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ। त्यस्तै महिला पुरुषमा एकल र टिम काता पनि समावेश छ।

गोदावरी नगरपालिकाका मेयर महर्जनले प्रजातन्त्र प्राप्तिका लागि योगदान गर्नुहुने सन्त नेता पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको सम्झना र खेलाडीहरु हौसला बढाउनका लागि सहयोग गर्दै आएको बताएका हुन् ।

नेपाल कराते महासंघका महासचिव दावा गुरुङले राष्ट्रिय प्रतियोगितामध्ये सबैभन्दा व्यवस्थित रहेको उल्लेख गर्दै महासंघको क्यालेण्डरमा‌ समावेश गरिने बताए । उनले यो प्रतियोगितामार्फत नयाँ प्रतिभा आउन गरेको र‌ भविष्यमा पनि यसले निरन्तरता पाउन विश्वास व्यक्त गरेका छन्।

प्रतियोगिताका परिकल्पनाकार एवम् बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले गोदावरी नगरपालिकालाई पहिलो संस्करणबाटै सहयोग गरिरहेकोमा धन्यवाद दिएका छन्।

आयोजक डोजोका अध्यक्ष श्रेष्ठले जिल्ला, प्रदेश र खेलाडीले यो प्रतियोगितालाई उत्साहित भएर प्रतीक्षा गर्ने गरेको उल्लेख गर्दै नयाँ प्रतिभा पनि निस्किरहेको बताएका हुन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ