प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार कर्णाली प्रदेशले दिएको लक्ष्य सुदूरपश्चिमले दोस्रो ओभरको तेस्रो बलमा पूरा गरेको हो ।
हिजो वर्षाका कारण आउट फिल्डमा पानी जमेका कारण खेल ढिला सुरु भएको थियो । ढिला सुरु भएका कारण खेल ५ ओभरमा छोट्याइएको थियो ।
२१ रनको लक्ष्य सुदूरपश्चिमले १.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । जितमा कविता कुँवरले सर्वाधिक १४ रन जोडिन् । उनले ६ बलमा २ चौका प्रहार गरिन् । अर्की ओपनर मनिषा बोहोराले नट आउट ५ रन बनाइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेट गुमाएर २० रन बनायो ।
टोलीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । श्रुर्ती बुढाले सर्वाधिक ८ र रमा बुढाथोकीले ६ रन जोडिन् ।
सुदूरपश्चिमका लागि आशिका महराले ३, कविता कुँवरले २ तथा ऋतु कनौजियाले १ विकेट लिइन् ।
लगातार तेस्रो जितसँगै सुदूरपश्चिम ६ अंकका साथ समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली ३ खेलमा १ अंकका साथ पाँचौ स्थानमा छ ।
आजको दोस्रो खेलमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीचको छ । प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा लुम्बिनी , गण्डकी , कर्णाली , एपिएफ क्लब र सुदूरपश्चिम छन् । समूह बी मा कोशी , मधेश , बागमती त्रिभुवन आर्मी क्लब छन् । दुई समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् ।
सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ । समूहका तेस्रो स्थानमा रहने टोलीहरुले पाँचौ र छैटौं स्थानका लागि खेल्नेछन् ।
