
उसुका विजय सिन्जाली र एरिका गुरुङ १९ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट शनिबार पुरस्कृत भएका छन् । पुरुषमा विजय र महिलामा एरिका पुरस्कृत भएका हुन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा तार्केश्वर नगरपालिकाको मनमैजु मन्दिर हातामा भएको कार्यक्रममा विजय र एरिकालाई जनही १ लाख नगदसहित ट्रफी प्रदान गरियो ।
प्रतिभाशाली खेलाडीको अवार्डबाट पुरुषमा तेक्वान्दोका अश्विन राउत र महिलामा कबड्डीकी मानमति विष्ट पुरस्कृत भए । दुवैले ट्रफीसहित समान ५०–५० हजार नगद पुरस्कार प्राप्त गरे । तेक्वान्दोकी पलेशा गोबर्धनलाई वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डसहित नगद १५ हजार रुपैयाँ प्रदान गरियो ।
गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट एथलेटिक्सका रघुराज वन्त र एनएनआईपीए खेल पत्रकारिता पुरस्कारबाट हाम्रो खेलकुद र न्युज एजेन्सी नेपालकी सरिता श्रेष्ठ सम्मानित भए । दुवैले प्रशंसा पत्रसहित समान ३५–३५ हजार नगद पुरस्कार पाए ।
उक्त अवार्ड बाहेक विभिन्न २९ खेलका उत्तिनै खेलाडीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड हात पारे । अवार्ड प्राप्त गर्नेमा आर्चरीका योगेन्द्र शेरचन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलका विजय बुर्जा, बक्सिङका चन्द्रबहादुर थापा, क्यानोइङका गणेश गुरुङ, क्रिकेटका कुशल मल्ल, साइक्लिङकी उषा खनाल, डान्स स्पोर्ट्सका श्याम महर्जन, इस्पोर्ट्सका साहस भण्डारी, फेन्सिङका राजेन्द्र गजुरेल, फुटबलकी प्रीति राई, गल्फका सद्भाव आचार्य, ह्यान्डबलकी संगिता चौधरी, जुडोका विकास विक, कबड्डीकी मानमति विष्ट, करातेकी एरिका गुरुङ, रग्बीका पुजन फेवाली, सुटिङका विपेश खड्का, स्क्वासकी स्वास्थानी श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसकी इभाना थापा, तेक्वान्दोका अश्विन राउत, टेनिसका निशान श्रेष्ठ, ट्रायथलनकी श्रेवी महर्जन, भलिबलकी निरुता ठगुन्ना, भारोत्तोलनकी विद्या राई, कुस्तीका सुरेश चुनारा र उसुका विजय सिन्जाली रहेका छन् । यि खेलाडी मध्येबाटै सर्वोत्कृष्ट र प्रतिभाशाली खेलाडीको अवार्ड प्रदान गरिएको हो । उत्कृष्ट सबैले ट्रफीसहित समान १०–१० हजार नगद पुरस्कार पाए ।