हिमालयन चेस एकेडेमीले कौशलटारमा प्रशिक्षण सञ्चालन गर्ने

हिमालयन चेस एकेडेमी (एचसिए) ले भक्तपुरका युवा खेलाडीलाई कौशलटारमा प्रशिक्षण दिने भएको छ। यसको लागि एकेडेमीले योङ लर्नस (रिडर्स हब) सँग बिहीबार सम्झौता गरेको छ।

गत चैतमा थापाथलीमा स्थापना गरिएको हिमालयन चेस एकेडेमीको पहिलो शाखा विस्तारबारे यसका अध्यक्ष मोनालिसा खम्बूले भनिन्, ‘नेपाली चेसको लागि खेलाडी उत्पादनमा भक्तपुर उर्वर क्षेत्र हो। नियमित प्रशिक्षणको लागि भक्तपुरबाट थापाथली आउजाउ गर्न टाढा पर्नसक्छ। त्यसैले भक्तपुरका बालबालिकाकालाई नजिकै र सहजताका लागि योङ लर्नर्ससँग सहकार्य गर्दै कौशलटारमै प्रशिक्षण दिने व्यवस्था गरिएको हो।’

योङ लर्नर्सकी संस्थापक वन्दना अर्याल भन्छिन्, ‘हामीले बालबालिकाको व्यक्तित्व विकासको लागि आर्ट्स, भ्वाइलिन, नाट्यलगायत सिकाइरहेका छौं। एउटै स्थानमा बालबालिकाले धेरै कुरा सिक्न पाओस् भनेर हामीले हिमालयन चेस एकेडेमीसँग सहकार्य गरेर चेसको प्रशिक्षण थपेका छौं। आफ्ना बालबालिकालाई चेस सिकाउनका लागि धेरै अभिभावक सम्पर्कमा आएका छन्। अब चेसको नियमित प्रशिक्षण सञ्चालन गर्नेछौं।’

उनकाअनुसार पुस १३ गतेदेखि चेस प्रशिक्षण सुरु गरिनेछ। सुरुमा साप्ताहिक रूपमा शनिबार दिउँसो १२ देखि २ बजे प्रशिक्षण सञ्चालन हुनेछ, जसमा पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिका सहभागी हुन पाउनेछन्।

दुवै संस्था गत वर्ष स्थापित भएका हुन्। नेपालको पहिलो महिला राष्ट्रिय च्याम्पियन मोनालिसा खम्बूद्वारा स्थापित हिमालयन चेस एकेडेमीका उपत्यकाका १३ विद्यालयमा चेस प्रशिक्षण दिइरहेको छ भने थापाथलीस्थित केन्द्रमा ८० भन्दा बढी खेलाडीले नियमित प्रशिक्षण गरिरहेका छन्। एकेडेमीले प्रतियोगिता व्यवस्थापन, वर्कसपलगायत चेसका सम्पूर्ण गतिविधि सञ्चालन गर्दै आएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ