बुटवल । सबै उमेर समूहसहित युवा खेलाडीहरुको बृहत् सहभागितामा विभिन्न खेल विधाका कार्यक्रमहरु सञ्चालन गर्ने तालिका मदन भण्डारी स्पोर्टस् एकेडेमीले ल्याएको छ । जागरण अभियानलाई निरन्तरता दिँदै खेलकुदका माध्यमबाट देशभक्त, सक्षम, सबल तथा अनुशासित जनशक्ति तयार गरी राष्ट्र निर्माणमा सहयोग पु¥याउने, आर्थिक तथा सामाजिक विकास तथा रुपान्तरणको लागि एकेडेमी राष्ट्रव्यापी खेलकुदको अभियानमा होमीएको हो ।
एकेडेमीले हालै मात्र २०८१ मंसिर २३ गतेका दिन काठमाडौँमा एक कार्यक्रमको आयेजना गरी आफ्नो यस वर्ष सञ्चालन गर्ने १८ विधाका राष्ट्रिय खेल प्रतियोगिताको कार्यतालिका सार्वजनिक गरेको थियो । २०८१ पौस १७ अर्थात् जनवरी १ मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको सन्दर्भ पारेर पहिलो खेल प्रतियोगिताको रुपमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी कप इन्डो नेपाल भलिबल प्रतियोगिता लुम्बिनी प्रदेशको प्रमुख खेलकुदको केन्द्र बन्दै गइरहेको सुन्दर सहर बुटवल उपमहानगरपालिका वडा नं.१० को रामनगर खेल मैदानमा भव्य रुपमा आयोजना गर्दै छ । खेल प्रतियोगिता पौस १७ देखि २४ गतेसम्म सञ्कचालन हुने एकेडेमीका अध्यक्ष धुर्व आचार्यले जानकारी दिए ।
एकेडेमीले भलिबल प्रतियोगिताको आयोजना संगै देशका विभिन्न स्थानमा रहेका प्रतिभावान् खेलाडीको पहिचान गरी छनोट गर्ने छ । यही पौस ३ गतेसम्म आवेदन प्राप्त खेलाडीहरुको पौस ४ र ५ गतेका दिन रामनगर खेल मैदानमा छनोट गरी बन्द प्रशिक्षणमा राखिने छ । प्रतिभा खेलाडी छनोट कार्यक्रमबाट छनोट भएका खेलाडीहरुलाई नेपाल राष्ट्रिय भलिबल टिमका प्रमुख प्रशिक्षकबाट प्रशिक्षण गराइनेछ भने बन्द प्रशिक्षण र खेल अवधिभर खेलाडिहरुको आवास, खाना, पोसाक र अन्य सुविधा एकेडेमीले प्रदान गर्नेछ । जसले गर्दा नयां अवसरबाट बन्चित रहेका उदयमान खेलाडीहरुलाई एकेडेमीले प्रतियोगिता खेल्ने अवसर प्रदान गर्ने छ । यसैगरी प्रतिभावान् खेलाडी छनोट कार्य एकेडेमीले सातै प्रदेशमा सञ्चालन गर्ने सबै राष्ट्रिय खेल प्रतियोगिताहरुबाट गरिने छ, जहाँबाट एकेडेमीले अवसरबाट बन्चित भएका हजारौँ प्रतिभावान खेलाडिलाई एकेडेमीको लोगो अंकित आफ्नो पोसाकमा मैदानमा अवसर प्रदान गर्नेछ भने ती खेलाडिहरुको प्रशिक्षण संगै आवश्यक सेवा सुविधासहित एकेडेमीले अनुबन्धित गर्ने छ ।
एकेडेमीले खेलसंग सम्बन्धित विभिन्न निकाय तथा कार्यालय, संघीय सरकारदेखि स्थानीय सरकार, सहयोगी संघसंस्था एवम् सुभेच्छुकहरुको सहयोगबाट आफ्नो अल्पकालीन र दिर्घकालिन योजना तय गरी कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेल प्रतियोगितामा सहभागिताकका लागि सम्पूर्ण तयारीका साथ लागेको छ ।

