नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो, सुपर–४ मा स्थान सुनिश्चित

कप्तान पूजा महतो अलराउन्ड प्रदर्शनप्रेरित नेपाली यू–१९ महिला क्रिकेट टिमले एसीसी यू–१९ महिला एसिया कपमा टेस्ट टोली पाकिस्तानविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । यो जितसँगै नेपालले प्रतियोगिताको सुपर–४ (सेमिफाइनल) मा स्थान सुनिश्चित गरेको छ ।

सोमबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । 

नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक अविजित ४७ रन बनाइन् । अर्धशतकबाट तीन रनले चुकेकी पूजाले ४७ बलमा तीन चौका प्रहार गरिन् । सोनी पाख्रिनले २० बलमा एक चौकासहित १३ रन थपिन् । सिमाना केसीले १२ बलमा १२ रन जोडिन् । यस्तै, ओपनर साना प्रविनाले १० र सावित्री धामीले आठ रन बनाइन् ।

पाकिस्तानकी फातिमा खान र क्वारातुलेनले समान एक विकेट लिए । 


त्यसअघि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०४ रनको योगफल खडा गरेको थियो ।  पाकिस्तानकी ओपनर कोमल खानले सर्वाधिक ३८ रन बनाएकी थिइन् । महन एनिसले २९, रावेल फरहानले १३ र कप्तान जुफिसान आयुजले १२ रन जोडे । 

नेपालकी कप्तान पूजा महतोले दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी पूजाले २७ रन खर्चिइन् । यस्तै, रचनाकुमारी चौधरी, सिमाना केी र रिया शर्माले समान एक विकेट लिए । 

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमै जित निकालेको हो । जितसँगै नेपालले प्रतियोगिताको सुपर–४ मा समेत स्थान पक्का गरेको छ । अब नेपालले समूह चरणको दोस्रो खेलमा मंगलबार भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगितामा पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पाकिस्तान यसअघि पहिलो खेलमा चिरप्रतिद्वन्द्वी भारतसँग नौ विकेटले पराजित भएको थियो । समूहका दुवै खेलमा हार बेहोरेको पाकिस्तानको सुपर–४ सम्भावना पनि समाप्त भएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ