लुम्बिनी लायन्स एक खेल अगावै जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरीएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार सम्पन्न दोश्रो खेलमा लुम्बिनी काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएको हो ।
यससँगै लुम्बिनीको यस सिजनको एनपीएलको यात्रा लिग चरणबाटै टुङ्गिने निश्चित भएको हो । लुम्बिनी पहिलो सिजनको एनपीएलको लिग चरणबाटै बाहिरीने पहिलो टोली समेत बनेको छ ।
प्लेअफको सम्भावना कायमै राख्नको लागि लुम्बिनीले आजको खेल जित्नैपर्ने थियो । जसका लागि काठमाडौंद्रा पाएको १०४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी अन्तिम ओभरको २ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो ।
