सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू हुँदैछ । आयोजक प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले आज पत्रकार सम्मेलन आयोजना गर्दै सूर्य नेपाल गल्फ टुर २०२४÷२५ को सिजनमा कुल आठ प्रतियोगिता सञ्चालन हुने जनाएको छ । सिजनको कुल नगद पुरस्कार ६७ लाख ३२ हजार रहेको छ । गत संस्करण भन्दा यो नगद पुरस्कार राशी ५ प्रतिशतले वृद्धि भएको हो । गल्फ टुरलाई १८औं संस्करणमा पनि प्रमुख प्रायोजक सूर्य नेपाल प्रालिको साथ रहेको छ । सूर्य नेपालको यो साथले नेपाली गल्फ विकासमा ठूलो योगदान पुगेको भन्दै प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले प्रायोजकलाई धन्यवाद दिए ।
सिजनको आठ प्रतियोगिता विभिन्न चार गल्फ क्लबमा हुने तय भएको छ । तर एउटा प्रतियोगिता भने त्रिभुवन आर्मीको गल्फ क्लबमा हुन सक्ने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले बताए । अहिलेको लागि काठमाडौंको गोकर्ण गल्फ क्लब र रोयल नेपाल गल्फ क्लबमा समान ३÷३ प्रतियोगिता हुने भनिएको छ । यसैगरी पोखरा र धरानमा एक÷एक प्रतियोगिता क्यालेन्डरमा उल्लेख छ । गल्फ टुरको नियमित आयोजनाले प्रोफेसनल गल्फरहरूसँगै एमेच्योर गल्फरहरूलाई पनि सहयोग पुगेको ठम्याई महासचिव आचार्यको छ । उनका अनुसार यही टुरमा निरन्तर सहभागिताले एमेच्योर खेलाडीहरूबाट अन्तराष्ट्रिय स्तरमा नतिजा आउन सुरू गरेको छ । आठ मध्ये सात प्रतियोगिता स्ट्रोक प्ले फर्मयाटमा हुनेछ भने म्याच प्लेको फर्मयाट फरक हुनेछ । जहाँ अर्डर अफ मेरिटमा टप १६ मा रहेका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् । नगद पुरस्कार राशीको आधारमा सबैभन्दा ठूलो प्रतियोगिता भने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुनेछ । जसको कुल पुरस्कार १६ लाख १९ हजार रहनेछ ।
