साफ यु-२० च्याम्पियनसिप : सबै टोलीको उपाधि जित्ने लक्ष्य

आइतबारबाट काठमाडौंमा सुरु हुने साफ यु-२० च्याम्पियनसिपका लागि सहभागी ६ वटै टोलीले तयार रहेको बताएका छन् ।

शनिबार एन्फा मुख्यालयमा भएको पत्रकार सम्मेलनमा नेपालसहित ६ टोलीका कप्तान र प्रशिक्षकले प्रतियोगिताका लागि तयार रहेको बताएका हुन् ।
प्रतियोगितामा पाकिस्तानबाहेक दक्षिण एसियाली सहयोग संगठन सार्कमा आवद्ध ६ देश सहभागी छन् ।

यसअघि प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय थियो । तर एएफसी च्यालेन्ज कप प्लेअफ अन्तर्गत नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीबीच भएको खेलपछि दशरथ रंगशालामा खेल खेलाउन लायक नभएको भन्दै उद्घाटनसहित समूह चरणको खेलहरु एन्फा कम्प्लेक्समा गर्न लागिएको छ ।
उद्घाटन खेलमा घरेलु टोली नेपालले आइतबार श्रीलंकासँग खेल्नेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

घरेलु टोली नेपाल, साविक विजेता भारत र साविक उपविजेता बंगलादेश प्रतियोगिताको उपाधि जित्न मुख्य दाबेदारको रुपमा छन् ।

भुटानले पनि पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएको छ । यस्तै माल्दिभ्स र श्रीलंका पनि प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ ।

घरेलु टोली नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यस पटक राम्रो तयारी भएकोले उपाधि जित्ने लक्ष्य रहेको बताए ।

‘हामीले ४०-४५ दिन एन्फा कम्प्लेक्समै तयारी गर्‍यौं । खेल पनि यहीँ हुँदैछ । त्यो हाम्रो लागि फाइदा हुनेछ’, श्रेष्ठले भने, ‘हामीले चर्च ब्वाइजसँग तीन अभ्यास खेल खेल्यौं । त्यसले पनि फाइदा पुग्नेछ ।’

यो पटक नेपाली टिममा ए डिभिजन लिग र नेपाल सुपर लिगबाट खेलिसकेका खेलाडीहरु भएकाले उनीहरु अनुभवी रहेका श्रेष्ठले बताए ।

नेपाली टिममा गत वर्ष घरेलु मैदानमै साफ यु-१९ खेलेका अधिकांश खेलाडी छन् ।

गत वर्ष सेमिफाइनलमा भारतसँग पराजित भएपछि उपाधि जित्न नसकेको नेपालले यसपटक त्यो गल्तीलाई सच्याएर राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ ।

यस्तै नेपालका कप्तान कुशल देउबाले पनि टिम पूर्ण रुपमा तयार रहेको र लक्ष्य उपाधि रहेको बताए । ‘तयारी राम्रो भएको छ । टिमको मेन्टालिटी राम्रो छ । टिम युनिटी राम्रो छ । गत वर्ष अलि एक्सपोजर कमी थियो । यसपटक खेलाडीहरुले राम्रो एक्सपोजर पाएका छन् । हाम्रो लक्ष्य च्याम्पियनसिपको उपाधि जित्नु हो । ‘

त्यस्तै साविक विजेता भारतका प्रशिक्षक रन्जन चौधरीले पनि उपाधि जित्ने लक्ष्य रहेको जानकारी दिए।

बंगलादेशका प्रशिक्षक एकेएम मारुफुल हकले गत वर्ष फाइनल पुगेकोले यस पटक पनि फाइनल पुग्नका लागि दबाब रहेको बताउंदै उनले यसपटक टिममा अनुभवी खेलाडीहरु पनि रहेकोले फाइनल खेल्ने लक्ष्य रहेको बताए ।

अर्कोतर्फ़ बंगलादेशका कप्तान मृहदी हसन स्राबोनले पनि बंगलादेशको लक्ष्य फाइनल पुग्ने रहेको स्पष्ट पारे ।

त्यसैगरी माल्दिभ्स र श्रीलंकाका प्रशिक्षक र कप्तानले पनि फाइनल पुग्ने लक्ष्य रहेको बताए ।

त्यसैक्रममा भुटानका कप्तान पेमा जाङ्गपोले यस पटक भुटानको टिम सहभागिता जनाउन मात्र नआएको भन्दै इतिहास बनाउन चाहेको खुलस्त पारे।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ