मैत्रीपूर्ण भलिबल खेल्नका लागि रसिया टोली नेपालमा

नेपाली राष्ट्रिय महिला भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि रसियाको १६ सदस्यीय टोली नेपाल आइपुगेको छ । रसियाली टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार स्वागत गर्यो ।

नेपाल र रसियाबीच साउन ६ र ७ गते दशरथ रंगशालाको कभर्ड हलमा मैत्रीपूर्ण खेल हुँदैछ । नेपालले काभा महिला नेसन्स लिगको तयारीका लागि रसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालस्थित रसियाको दुतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो ।नेपालले मैत्रीपूर्ण खेल र प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । अरुणा शाहीको कप्तानीमा दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो । टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र उषा भण्डारी नियमित छन् ।

त्यस्तै लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्टसँगै युवा सेटर प्रगति नाथ पनि टोलीमा रहेकी छिन् । मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलो पटक टोलीमा स्थान बनाउन सफल भएका छन् । टोलीको प्रशिक्षण जगदीश भट्टले सम्हालिरहेका छन् । उनलाई सहायक प्रशिक्षकमा भरत यादव र रुपेश विष्टले साथ दिएका छन् । टोलीको व्यवस्थापकमा पूर्व खेलाडी तथा संघकी सदस्य निलम बज्राचार्य रहेकी छिन् ।नेपालसहित ५ राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।

नेपालको टोली: अरुणा शाही, सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी

रसियाको टोली: एमेलिना एन्जेलिना, अजनोभा अनास्तासिया, कोस्तिउकेभिच ओल्गा, क्रुक इना, लुबेन्चेन्को एना, सर्गीभा बार्बरा, स्लाउटिना नाटालिया, टिमोस्कोभा एकाटेरिना, बोलोदिना मिला, बासिना एलेना, जिनोबेबा एना र बाबेशिना मारिया

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ