एसिया कपमा नेपालको ऐतिहासिक जित

ओपनर सम्झना खड्काको सानदार ब्याटिङ प्रदर्शनमा नेपालले एसीसी महिला एसिया कप इतिहासकै पहिलो जित हासिल गरेको छ ।

शुक्रबार श्रीलंकाको दम्बुलामा यूएईमाथि ६ विकेटको जित दर्ता गर्दै सन् २०२४ संस्करणमा विजयी सुरुवात गरेको हो । यूएईले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १७ औं ओभरमा पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सानदार ब्याटिङ गर्दै ७२ रनको योगदान दिइन् । उनले ४५ बलमा ११ चौका प्रहार गरिन् ।

करिअरको पहिलो अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्ने क्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी थिइन् । उनले त्यसक्रममा ८ चौका प्रहार गर्दै नेपालको इनिङ सम्हालिन् । पुजा महतो ७ रनमा नटआउट रहिन् । नेपालका लागि सिता रानामगरले ७, कविता कुँवरले २ तथा इन्दु वर्माले ६ रन जोडिन् भने रुविनाले १० रन जोडेर पेभेलियन फर्कीइन् । त्यसअघि टस हारेर पहिले ब्याटिंङ्ग गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु वर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । कृतिका मरासिनी, सबनम राई र कविता जोशीले १-१ विकेट हात पारे । रुविना क्षेत्रीले ४ ओभरमा १८ रन र सिता रानामगरले ३ ओभरमा १२ रन मात्र खर्चिए ।

नेपालले अब आइतबार पाकिस्तानको सामना गर्नेछ । त्यसपछि मंगलबार समूहको अन्तिम खेलमा नेपाल र भारत खेल्नेछन् । आज साँझ हुने समूहको खेलमा भारत र पाकिस्तान खेल्दैछन् । प्रतियोगिताको सेमिफाइनल शुक्रबार र फाइनल आइतबार हुनेछ । यसअघि सन् २०१२ र २०१६ मा दुई पटक सहभागिता जनाएको नेपालले यसअघिका सबै खेलमा हार बेहोरेको थियो । नेपालले एसिया कपको नवौं खेलमा पुगेर पहिलो जित दर्ता गर्न सफल भएको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ