
काठमाडौं,असोज ३० गते ।
आगामी फागुन १ गतेदेखि पहिलो संस्करणको नेपाल फुटबल लिग (एनएफएल) आयोजना हुने भएको छ। नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले नेपाल फुटबल लिगको घोषणा गरेको हो। लिगका प्रमुख कल्याण गुरुङले नेपाली फुटबलको विकास र घरेलु प्रतियोगितालाई थप व्यवस्थित बनाउने लक्ष्यसहित प्रतियोगिताको योजना अघि सारिएको जानकारी दिए।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को निलम्बनका कारण नेपाली फुटबल प्रभावित भइरहेको अवस्थामा प्रस्तावित लिगले घरेलु फुटबललाई चलायमान बनाउन सहयोग पुग्ने गुरुङको विश्वास छ। लिग सञ्चालनले खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नुका साथै नेपाली फुटबल गतिविधिलाई निरन्तरता दिन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
पहिलो संस्करणको नेपाल फुटबल लिगमा हालसम्म ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी गरी सात टोलीको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ। प्रतियोगितामा थप केही टोलीलाई समेत सहभागी गराउने योजना आयोजकको छ।
लिग होम एन्ड अवे प्रणालीका आधारमा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगिता करिब चार महिनासम्म सञ्चालन गर्ने योजना रहेको छ।
नेपाल फुटबल लिगले नेपाली फुटबलको घरेलु संरचनालाई थप सक्रिय बनाउँदै खेलाडी तथा क्लबलाई नियमित प्रतिस्पर्धाको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।