एसियाड पदक विजेता तेन्जिङलाई तार्केश्वरको सम्मान

काठमाडौं असोज ३० गते ।
तार्केश्वर नगरपालिकाले २० औं एसियाली खेलकुदअन्तर्गत करातेका पदक विजेता तेन्जिङ शेर्पालाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।
तार्केश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल र तार्केश्वर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीले तेन्जिङलाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
जापानको आइची–नागोयामा भएको २० औं एसियाली खेलकुदको करातेतर्फ पुरुष ८४ केजीमुनि तेन्जिङले कांस्य जितेका थिए । २० औं एसियाडको करातेमा नेपालका लागि तेन्जिङले मात्र पदक जिते । तेन्जिङको पदक २० औं एसियाडमा नेपालले जितेको पहिलो पदक पनि हो । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धा तेन्जिङले लाओसका खेलाडीलाई ९–१ ले पराजित गर्दै कांस्य पदक पक्का गरेका थिए ।
समग्र एसियाडको करातेमा नेपाललाई पदक दिलाउने तेन्जिङ पाँचौ खेलाडी हुन् । यसअघि एसियाडमा करातेले १ रजत र ३ कांस्य जितेको थियो । १९९४ को हिरोसिमा एसियाडमा सीता राई, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडमा विमला तामाङले कांस्य तथा सन् २०२२ को हाङझाव एसियाडमा एरिका गुरुङले रजत जितेका थिए ।
२० औं एसियाडमा नेपालले करातेमा सहित २ कांस्य जितेको थियो । अर्को कांस्य महिला कबड्डी टोलीले जितेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ