
सुर्खेत, असोज १९ गते । नेपाली म्याराथनका चर्चित धावक तथा कर्णालीका प्रेरणादायी खेलाडी हरिबहादुर रोकायालाई कर्णाली याक्सले सम्मान गरेको छ। नेपाली खेलकुद क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै कर्णाली याक्सले रोकायालाई नगद दुई लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको हो।
सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विशेष कार्यक्रममा कर्णाली याक्सले रोकायालाई सम्मान गर्दै आफ्नो ‘हिरोज’ ब्रान्ड एम्बेस्डर समेत घोषणा गरेको छ। लामो समयदेखि नेपाली म्याराथन तथा एथलेटिक्स क्षेत्रमा योगदान दिँदै आएका रोकायालाई सम्मान गरिएको अवसरमा उनको खेलजीवन, संघर्ष र उपलब्धिको समेत चर्चा गरिएको थियो।
सम्मान ग्रहण गरेपछि रोकायाले आफूलाई गरिएको सम्मानले निकै खुसी र उत्साहित बनाएको बताए। उनले खेलकुदमा सफलता हासिल गर्न चाहने खेलाडीले कठिन परिस्थितिमा पनि आफ्नो संघर्ष र लक्ष्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
“म धेरै खुसी छु । संघर्ष छोड्नु हुँदैन,” रोकायाले भने, “देशलाई पहिलो स्थानमा राख्नुपर्छ । देश रहे हामी रहन्छौँ ।”
रोकायाले आफ्नो खेलजीवन व्यक्तिगत सफलता हासिल गर्ने उद्देश्यमा मात्र सीमित नभएको बताए। देशलाई विश्वस्तरमा चिनाउने लक्ष्यसहित आफूले खेलकुदको यात्रा अघि बढाएको उनको भनाइ थियो। सीमित स्रोतसाधन र कठिन परिस्थितिका बाबजुद नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने उनको विश्वास छ।
जुम्लाका रोकाया नेपाली म्याराथन क्षेत्रमा लामो समयदेखि सक्रिय र चर्चित नाम हुन्। उनले कठिन भौगोलिक तथा आर्थिक परिस्थितिका बीच प्रशिक्षण र प्रतिस्पर्धालाई निरन्तरता दिँदै नेपाली एथलेटिक्समा आफ्नो छुट्टै पहिचान बनाएका छन्। विशेषगरी उच्च हिमाली तथा कठिन भूगोलबाट आएका खेलाडीका लागि उनी प्रेरणाका स्रोतका रूपमा समेत चिनिन्छन्।
रोकायाका अनुसार उनले सन् २००० मा ३८ वर्षको उमेरमा एभरेस्ट म्याराथनमा विश्व कीर्तिमान कायम गरेका थिए। आफूले त्यसबेला बनाएको उक्त कीर्तिमान अहिलेसम्म कसैले तोड्न नसकेको उनले उल्लेख गरे। उनको यो उपलब्धि नेपाली म्याराथन इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।
लामो समयदेखि नेपाली म्याराथनमा योगदान दिँदै आएका रोकायाले खेलाडीका रूपमा हासिल गरेको उपलब्धिसँगै नयाँ पुस्ताका खेलाडीलाई निरन्तर प्रेरणा र हौसला दिँदै आएका छन्। कठिन परिस्थितिमा पनि लक्ष्यप्रति प्रतिबद्ध भएर अघि बढे सफलता प्राप्त गर्न सकिने उनको खेलजीवनले देखाएको छ।
कर्णाली याक्सले रोकायालाई सम्मान गर्नुका साथै ब्रान्ड एम्बेस्डर घोषणा गर्नुले कर्णालीको खेलकुद इतिहास, प्रतिभा र खेलाडीको योगदानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ। कर्णालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याएका खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने अभियानका रूपमा समेत यसलाई हेरिएको छ।
रोकायाको सम्मानले नेपाली खेलकुदमा लामो समय योगदान दिएका खेलाडीको योगदानको कदर गर्नुपर्ने सन्देशसमेत दिएको छ। नयाँ पुस्ताका खेलाडीलाई निरन्तर मेहनत, अनुशासन र देशप्रतिको जिम्मेवारीका साथ अघि बढ्न प्रेरित गर्ने उनको भनाइले सम्मान कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको छ।