एसियाली खेलकुदमा नेपाली तेक्वान्दोको पदक खडेरी कायमै, स्वस्तिका र युवराज पहिलो चरणमै बाहिरिए

काठमाडौं असोज १६ गते ।

एसियाली खेलकुदमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने खेलका रूपमा रहेको तेक्वान्दोमा नेपालको पदकविहीन यात्रा यसपटक पनि कायमै रहने संकेत देखिएको छ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपाली तेक्वान्दोले पहिलो दिन नै निराशाजनक प्रदर्शन गरेको छ ।

एसियाली खेलकुदमा नेपाली तेक्वान्दोले हालसम्म एक रजत र १३ कांस्यसहित कुल १४ पदक जितेको छ । तर, नेपाली तेक्वान्दोले एसियाडमा पदक जित्न नसकेको लामो समय भइसकेको छ । सन् २००६ मा कतारको दोहामा भएको एसियाली खेलकुदमा नेपालले तेक्वान्दोबाट तीन कांस्य पदक जितेपछि लगातार चार संस्करणमा नेपाली तेक्वान्दो पदकविहीन बनेको छ ।

जापानमा जारी २०औँ संस्करणमा पनि पदकको खडेरी तोड्ने नेपालको प्रयास पहिलो दिनमै कमजोर बनेको छ । आइचीस्थित तोयाहोसी जिम्नेजियममा बिहीबार भएको तेक्वान्दोको पुम्से विधामा प्रतिस्पर्धा गरेका स्वस्तिका तामाङ र युवराज राना दुवै फाइनल चरणमा पुग्न असफल भएका छन् ।

महिला एकल पुम्सेमा प्रतिस्पर्धा गरेकी स्वस्तिका ६.५७ अंकसहित आफ्नो समूहको अन्तिम स्थानमा रहेकी छन् । निर्धारित दुई समूहबाट शीर्ष चार–चार खेलाडी फाइनल चरणमा प्रवेश गर्ने प्रावधान रहे पनि स्वस्तिका उक्त चरणमा पुग्न सकिनन् ।

महिला एकल पुम्सेमा दक्षिण कोरियाकी हाइयुन युङले ९.३१ अंक प्राप्त गर्दै स्वर्ण पदक जितेकी छन् । फिलिपिन्सकी जुलियाना मिखाइल कान्डेलारियाले ९.१३ अंकसहित रजत तथा थाइल्यान्डकी थितारी काइवोलानवासले ९.०४ अंकसहित कांस्य पदक प्राप्त गरेकी छन् ।

स्वस्तिका १३औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी खेलाडी हुन् । जापानमा जारी प्रतियोगिता उनका लागि लगातार दोस्रो एसियाली खेलकुद सहभागिता हो । उनले चीनमा आयोजित १९औँ एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

पुरुष एकल पुम्सेमा प्रतिस्पर्धा गरेका युवराज रानाले पनि पहिलो एसियाली खेलकुद सहभागितालाई सम्झनलायक बनाउन सकेनन् । उनले ७.०२ अंक प्राप्त गर्दै आफ्नो समूहमा आठौँ स्थान हासिल गरे । समूहबाट आवश्यक स्थान हासिल गर्न नसकेपछि युवराज पनि फाइनल चरणमा पुग्न असफल भए ।

पुरुष एकल पुम्सेमा दक्षिण कोरियाका क्युसुङ युनले ९.३८ अंकसहित स्वर्ण, थाइल्यान्डका नवीन पिन्थासुटेले ९.२८ अंकसहित रजत तथा फिलिपिन्सका जेसस गाब्रियल डेरिक एपले ९.०९ अंकसहित कांस्य पदक जितेका छन् ।

अब अभिषेकबाट पदकको आशा

चालु एसियाली खेलकुदमा नेपालबाट तेक्वान्दोमा तीन खेलाडीको मात्र सहभागिता रहेको छ । नेपाल तेक्वान्दोको छनोट चरण पार गर्न असफल भए पनि स्वस्तिका तामाङ, युवराज राना र ग्यारोगतर्फका अभिषेक बरालले वाइल्डकार्डमार्फत प्रतियोगितामा सहभागिता जनाएका छन् ।

स्वस्तिका र युवराजको यात्रा समाप्त भएसँगै अब तेक्वान्दोमा नेपालका लागि अभिषेक बरालको प्रतिस्पर्धा मात्र बाँकी रहेको छ । पुरुष ८० केजीमुनि ग्यारोगतर्फ अभिषेकले बिहीबार उज्बेकिस्तानका जासुरबेक जयसुनोभसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

सन् २०२४ मा भएको छैटौँ एसियन तेक्वान्दो ओपन च्याम्पियनसिपमा रजत पदक जितेका अभिषेकबाट नेपाली तेक्वान्दोको लामो पदकविहीन यात्रा तोड्ने आशा गरिएको छ ।

कुस्तीमा सुशीला पहिलो चरणमै रोकिइन्

२०औँ एसियाली खेलकुदअन्तर्गत महिला कुस्तीमा नेपालकी सुशीला चन्द पनि पहिलो चरणबाटै बाहिरिएकी छन् ।

नागोयास्थित इनाई स्पोर्ट्स सेन्टरमा भएको महिला ६२ केजी तौल समूहको क्वार्टरफाइनलमा सुशीलाले मंगोलियाकी आल्तजिन तोग्तोखसँग प्रतिस्पर्धा गरेकी थिइन् । उक्त खेलमा तोग्तोखले सुशीलालाई १०–० ले पराजित गरेकी छन् ।

मंगोलियाली खेलाडीले १० अंक जोड्दा सुशीला कुनै अंक जोड्न असफल भएपछि प्राविधिक श्रेष्ठताका आधारमा खेलको निर्णय भएको थियो । प्रतिस्पर्धामा आवश्यक अन्तर कायम भएपछि दोस्रो राउन्डसम्म खेल सञ्चालन गर्नुपर्ने अवस्था आएन ।

जुडोमा पुनमको अनुभव पनि काम लागेन

तेस्रो पटक एसियाली खेलकुदमा सहभागिता जनाएकी नेपाली जुडो खेलाडी पुनम श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिएकी छन् । बिहीबार नागोयास्थित आइची इन्टरनेसनल एरिनामा भएको महिला ७० केजी तौल समूहको खेलमा पुनमलाई भारतकी इनुनगाम्बी ताखेलामबामले इप्पोनका आधारमा पराजित गरेकी हुन् ।

पुनमले खेलको सुरुआत आक्रामक रूपमा गरेकी थिइन् । तर, उनको एउटा आक्रामक प्रयासलाई भारतीय खेलाडीले आफ्नो पक्षमा पार्दै खेल नियन्त्रणमा लिएकी थिइन् । चार मिनेटको निर्धारित खेलमध्ये १ मिनेट ५४ सेकेन्डमै ताखेलामबामले इप्पोन हासिल गर्दै खेल समाप्त गरेकी हुन् ।

विश्व वरीयतामा ५४औँ स्थानमा रहेकी ताखेलामबाम यसै वर्ष भएको एसिया जुडो च्याम्पियनसिपमा कांस्य पदक विजेता पनि हुन् ।

पुनम दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदकधारी खेलाडी हुन् । गम्भीर चोटपछि प्रतिस्पर्धात्मक खेलमा फर्किएकी उनले पुनरागमनसँगै एसियाली खेलकुदमा समेत स्थान बनाउन सफल भएकी थिइन् ।

जुडोकी प्रशिक्षक सुनिता मगर ताम्राकारका अनुसार पुनमले राम्रो टेक्निक र उच्च मनोबलसहित आक्रामक सुरुआत गरे पनि भारतीय खेलाडीले चाँडै खेल आफ्नो नियन्त्रणमा लिएकी थिइन् । जुडोमा केही सेकेन्डमै खेलको अवस्था परिवर्तन हुन सक्ने र आफ्नै टेक्निकसमेत उल्टो पर्न सक्ने उनको भनाइ छ ।

खेलपछि पुनमले एसियाली खेलकुदका लागि लामो समय कडा प्रशिक्षण र मेहनत गरे पनि जित हासिल गर्न नसकेकोमा दुःख व्यक्त गरेकी छन् ।

चालु एसियाडमा जुडोतर्फ नेपालको एकल स्पर्धामा अब पुरुष ९० केजीमुनि सुजन गुरुङको खेल मात्र बाँकी रहेको छ । सुजनले शुक्रबार जापानका रिकु ओकाडासँग प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि नेपाली जुडो टोलीले मिक्स टिम स्पर्धामा सहभागिता जनाउनेछ । मिक्स टिममा नेपालले शनिबार चाइनिज ताइपेईसँग पहिलो खेल खेल्नेछ ।

गल्फमा सुभाषको उत्कृष्ट प्रदर्शन, अर्को चरणमा प्रवेश

यसैबीच, पुरुष एकल स्ट्रोक प्ले गल्फमा नेपालका सुभाष तामाङले दोस्रो दिन उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरणमा स्थान बनाएका छन् ।

कासुगाई कन्ट्री क्लब इस्ट कोर्समा भएको प्रतियोगिताको पहिलो दिन इभन पार ७० को स्कोर गरेका सुभाषले दोस्रो दिन तीन अन्डर ६७ को स्कोरकार्ड बनाएका छन् । दुई दिनको खेलपछि उनको कुल स्कोर १३७ रहेको छ ।

कुल १३७ स्कोरसहित सुभाष समग्रमा ११औँ स्थानमा रहेका छन् । शीर्ष स्थानमा रहेका चाइनिज ताइपेईका वेइ सुवान वेङ र चीनका वेन्यी डिङभन्दा सुभाष ६ स्ट्रोकले मात्र पछाडि रहेका छन् । कट पार गरेपछि सुभाषले अब प्रतियोगिताको अन्तिम ३६ होलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालकै अर्का गल्फर राहुल विश्वकर्माले भने दोस्रो दिन पनि ६ ओभर ७६ को स्कोर गरेका छन् । उनको कुल स्कोर १५२ पुगेको छ । उनी ४५औँ स्थानमा रहँदै अर्को चरणमा प्रवेश गर्न असफल भएका छन् ।

यसै स्पर्धामा सहभागी नेपालका अर्का खेलाडी सद्भाव आचार्य अस्वस्थताका कारण प्रतियोगितामा सहभागी हुन सकेनन् ।

महिला एकल स्ट्रोक प्लेमा भने नेपालकी तारा कार्की चित्रकारले अपेक्षाअनुसार प्रदर्शन गर्न सकिनन् । पहिलो दिन १९ ओभरको स्कोर गरेकी ताराले दोस्रो दिन २६ ओभर ९६ को स्कोर गरेकी छन् । दुई दिनको खेलपछि उनको कुल स्कोर १८५ रहेको छ र उनी ४२औँ स्थानमा रहेकी छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ