
काठमाडौं,असोज १० गते ।
२०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । वर्षाले प्रभावित खेलमा नेपालले पहिले ब्याटिङ गर्दै १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो ।
वर्षाका कारण खेल निर्धारित समयभन्दा करिब एक घण्टा ढिला सुरु भएको थियो । ढिलाइ भएपछि खेललाई १५ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १५ ओभरमा १४९ रनको योगफल तयार गरेको हो ।
नेपालका लागि जोराले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ५७ रन बनाए । लोकेशले पनि २२ बलमा ५२ रनको अविजित अर्धशतकीय पारी खेले । त्यस्तै आसिफ शेखले २१ रनको योगदान दिए ।
जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले नेपालका एक–एक विकेट लिए ।
नेपालको इनिङ्स सकिने क्रममा पुनः वर्षा सुरु भएपछि मैदान ढाकिएको थियो । लगातार वर्षाका कारण जापानले ब्याटिङ गर्ने अवसर पाएन र खेल नतिजाविहीन भएको हो ।
नतिजाविहीन भएसँगै नेपालले १ अंक प्राप्त गरेको छ । नेपाल समूह ‘ए’ मा दुई खेलबाट ३ अंक जोड्दै समूह विजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान दुई खेलबाट २ अंक जोड्दै समूह उपविजेता बनेर अन्तिम आठमा पुगेको छ ।
अब क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । अर्को क्वाटरफाइनलमा अफगानिस्तानले भारतको सामना गर्नेछ ।