एसियाड टेनिस टोलीलाई इन्फिनिटीको खेल पोशाक

काठमाडौं असोज ६ गते ।
जापानमा भइरहेको २० औं एसियाली खेलकुदको टेनिसमा सहभागी हुने नेपाली टोलीलाई भाटभटेनी सुपर मार्केटमा आबद्ध इन्फिनिटी एक्टिभ वेयरले प्रोत्साहन स्वरुप खेल पोशाक प्रदान गरेको छ ।
नेपाल टेनिस संघले मंगलबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना गरेको बिदाइ तथा शुभकामना कार्यक्रममा इन्फिनिटीका प्रबन्ध निर्देशक प्रवीण गुरुङ र सीओओ सौरभ गुरुङले टोलीलाई खेल पोशाक हस्तान्तरण गरे । प्रबन्ध निर्देशक गुरुङले आगामी दिनमा पनि टेनिस संघसंग सहकार्य गर्न तयार रहेको बताए ।
सेप्टेम्बर २७ देखि अक्टोबर ३ तारिखसम्म नागोया सिटी हिगासियामा पार्क टेनिस सेन्टरमा हुने टेनिसमा ३ पुरुष र २ महिला गरी ५ खेलाडी सहभागी हुँदै छन् । पुरुषमा अभिषेक बाँस्तोला, प्रदीप खड्का र निसान श्रेष्ठ तथा महिलामा शिभाली गुरुङ र स्वस्तिका विष्टले खेल्ने छन् । अभिषेक र प्रदीपको क्रमशः लगातार चौथो र दोश्रो एसियाड सहभागिता हो । बाँकीले पहिलोपटक एसियाड खेल्न लागेका हुन् ।
नेपालले पुरुष÷महिला सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा गर्ने छ । टिम व्यवस्थापकमा टेनिस संघका महासचिव निरेशबहादुर श्रेष्ठ तथा प्रशिक्षकमा रेणुदेवी कोन्डा श्रेष्ठ रहेका छन् । टेनिस संघका अनुसार टोली बुधबार जापान प्रस्थान गर्ने छ ।
टोलीलाई टेनिस संघका अध्यक्ष मनोहरदास मुल, इन्फिनिटीका प्रतिनिधिलगायतले सफलताको शुभकामना दिदै बिदाइ गरे ।
सो अवसरमा टेनिस संघले इन्फिनिटीलाई कदर पत्रसहित सम्मान पनि गरेको थियो । अध्यक्ष मुलले इन्फिनिटीको सहयोगका लागि धन्यवाद दिदै टेनिसको विभिन्न कार्यक्रममा अझ वृहत रुपमा इन्फिनिटीसंग सहकार्य गर्न इच्छुक रहेको बताए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ