काठमाडौं असोज ५ गते ।
एकपछि अर्को सफल जुडो खेलाडी उत्पादन गर्दैै आएको बन्दी सहायता नियोग (पाम) ले २० औं एसियाली खेलकुदमा सहभागी हुने आफ्ना खेलाडीसहित जुडो टोलीलाई सफलतको शुभकामना दिदै बिदाइ गरे ।
जापानको आइची÷नागोयामा असोज ३ गतेदेखि सुरु भएको एसियाडमा जुडोबाट समान ३–३ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । जुडो भने असोज १४ गतेदेखि सुरु हुनेछ । टोली असोज १० गते जापान जाने तालिका छ ।
पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि सुजन गुरुङले प्रतिस्पर्धा गर्ने छन् । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ४८ केजीमुनि निशा श्रेष्ठ र ७० केजीमुनि पुनम श्रेष्ठ सहभागी हुने छन् ।
देवकी र विकासको दोश्रो एसियाड सहभागिता हो । बाँकीले पहिलोपटक एसियाड खेल्न लागेका हुन् । देवकी र निशा दिदीबहिनी तथा विकास र विशेष दाजुभाइ हुन् । प्रशिक्षकमा सुनिता मगर ताम्राकार छिन् । एसियाडमै सहभागी हुन आईटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि जापान जाने छन् ।
देवकी र निशा पामकै उत्पादन हुन् । यसपटक बहिनीसंग एसियाडमा सहभागी हुन लागेकी देवकीले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा दाइ इन्द्रबहादुर श्रेष्ठसंगै सहभागी भएकी थिइन् । इन्द्रसहित ओलम्पियन मनीता श्रेष्ठ प्रधान पनि पामकै उत्दापदन हुन् ।
पामबाट सफल जुडो खेलाडी उत्पादनमा गर्नमा पामकै कार्यकारी निर्देशक समेत रहेका प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठको महत्वपूर्ण योगदान छ । सूर्यनारायण श्रेष्ठले पनि १९९० मा चीनको बेइजिङमा भएको एसियाडमा प्रतिस्पर्धा गरेका थिए ।
टोलीलाई पामका कार्यवाहक अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, ओलम्पियन ऋषिराम प्रधान र देबु थापा, जुडोका प्रमुख प्रशिक्षक वीरेन्द्र रन्जितलगायतले बिदाइ गरे ।
