२०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं असोज ३ गते ।

जापानमा आयोजना भइरहेको २०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज हुँदैछ। स्थानीय समयअनुसार साँझ ६ बजे नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा उद्घाटन समारोह आयोजना हुनेछ।

औपचारिक उद्घाटन हुनुअघि नै केही खेलका प्रतिस्पर्धा भने सुरु भइसकेका छन्। जापानको एआइची प्रिफेक्चरका विभिन्न सहरसँगै गिफु, शिजुओका, टोकियो र ओसाकामा समेत विभिन्न खेलका प्रतियोगिता सञ्चालन भइरहेका छन्।

जापानले तेस्रोपटक एसियन गेम्स आयोजना गर्न लागेको हो। यसअघि जापानले सन् १९५८ मा टोकियो र १९९४ मा हिरोसिमा मा एसियन गेम्स आयोजना गरेको थियो। ३२ वर्षपछि जापानमा फर्किएको यस संस्करणमा ४३ खेलका ७१ विधामा ४६९ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा करिब १७ हजार खेलाडी तथा अफिसियल सहभागी हुँदैछन्। यसपटक मिक्स्ड मार्सल आर्ट्स, प्याडेल, सर्फिङ, भर्चुअल तेक्वान्दो र टेकबललाई नयाँ खेलका रूपमा समावेश गरिएको छ। यस्तै ई–स्पोर्ट्स र ब्रेकिङले पनि एसियन गेम्समा स्थान पाएका छन्।

सहभागी खेलाडी तथा अफिसियल टोलीलाई प्रतियोगिता अवधिभर होटल तथा क्रुजमा राखिएको छ।

नेपालबाट १३५ खेलाडी

२०औँ एसियन गेम्समा नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी हुँदैछन्। नेपाली टोलीमा ५७ महिला र ७८ पुरुष खेलाडी रहेका छन्। यस्तै नेपालबाट २९ प्रशिक्षक, १७ व्यवस्थापक र २ खेल प्राविधिक पनि सहभागी हुनेछन्।

नेपालबाट आर्चरीमा २, एथलेटिक्समा ६, ब्याडमिन्टनमा ४, बक्सिङमा ७, क्रिकेटमा १५, साइक्लिङमा २, गल्फमा ४, जुडोमा ६, कबड्डीमा २४, करातेमा ८, र्‍याफ्टिङ एन्ड क्यानोइङमा २, स्केट एन्ड स्केट बोर्डिङमा २, सफ्ट टेनिसमा ४, स्क्वासमा २, पौडीमा ५, टेबलटेनिसमा ६, तेक्वान्दोमा ३, टेनिसमा ५, भलिबलमा १२, कुस्तीमा ६ र उसुमा १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल महिला भलिबल टोली भने प्रतियोगितामा पदकको दौडबाट बाहिरिसकेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ