
काठमाडौं, भदौ २८ गते ।
नेपालकी जूडो प्रशिक्षक प्रितीमाया तामाङले अन्तर्राष्ट्रिय जूडो महासंघ (IJF) को लेभल–१ कोचिङ कोर्स सफलतापूर्वक पूरा गरेकी छन्।
एभरेस्ट जूडो क्लब, सोलुखुम्बुसँग आबद्ध प्रशिक्षक तामाङले टर्कीको इस्तानबुलमा सेप्टेम्बर ७ देखि १३, २०२६ सम्म सञ्चालन भएको एक साताको आईजेएफ लेभल–१ कोर्समा सहभागिता जनाएकी हुन्। अन्तर्राष्ट्रिय स्तरमा जूडो प्रशिक्षकको दक्षता तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रशिक्षणमा विभिन्न देशका प्रशिक्षकहरूको सहभागिता रहेको थियो।
उक्त कोर्समा १० देशका प्रशिक्षक तथा करिब ३० जना प्रशिक्षक सहभागी भएको जनाइएको छ। प्रशिक्षणका क्रममा जूडोको प्राविधिक पक्ष, प्रशिक्षण विधि, खेलाडीको विकास, अभ्यास व्यवस्थापनलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
तामाङले नेपालमा सञ्चालन हुने जूडो प्रशिक्षणलाई थप व्यवस्थित र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन आफूले हासिल गरेको ज्ञान महत्वपूर्ण हुने बताएकी छन्। आईजेएफको लेभल–१ कोर्स पूरा गर्नु नेपाली जूडो क्षेत्रका लागि समेत सकारात्मक उपलब्धि भएको छ।

अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणमा सहभागी भएर प्रमाणित प्रशिक्षकका रूपमा आफ्नो क्षमता विस्तार गरेकी तामाङले आगामी दिनमा नेपालमा जूडो खेलाडीको प्रशिक्षण र विकासमा आफूले सिकेको ज्ञान प्रयोग गर्ने अपेक्षा गरिएको छ।
आईजेएफको यस्तो प्रशिक्षणले नेपाली प्रशिक्षकलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण पद्धति, आधुनिक जूडो प्रविधि तथा खेलाडी विकाससम्बन्धी नयाँ ज्ञान हासिल गर्ने अवसर प्रदान गर्ने भएकाले नेपाली जूडोको विकासमा पनि योगदान पुग्ने विश्वास गरिएको पुर्व महासचिव तथा डाईरेक्टर धर्म कुमार श्रेष्ठले बताए।
