
काठमाडौं,भदौ २५ गते ।
३२औँ स.बल ज्ञान कार्निभल अन्तर्गत फुटबलतर्फ उपाधि भिडन्तको समीकरण पूरा भएको छ। आयोजक ज्ञानोदय बालवाटिका र रातो बंगला स्कुलले ब्वाइज फुटबलको फाइनलमा स्थान बनाएका छन् भने गर्ल्सतर्फ रातो बंगला र एभीएमबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ।
ज्ञानोदय बालवाटिकाको आयोजनामा जारी प्रतियोगिताको ब्वाइज फुटबलमा रातो बंगला स्कुलले डीएभीलाई ३–० गोलको प्रभावशाली अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। खेलमा रातो बंगला सुरुदेखि नै आक्रामक देखिएको थियो। टोलीका सिद्धान्त राईले दुई गोल तथा अर्नव श्रेष्ठले एक गोल गर्दै डीएभीमाथि सहज जित दिलाए।
यता, अर्को सेमिफाइनलमा आयोजक ज्ञानोदय बालवाटिकाले लिटिल एन्जल्सलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ज्ञानोदयका सोनाम भट्टचनले निर्णायक गोल गर्दै टोलीलाई उपाधि भिडन्तसम्म पुर्याए।
यससँगै ब्वाइज फुटबलको उपाधिका लागि आयोजक ज्ञानोदय र रातो बंगला स्कुलबीच रोमाञ्चक फाइनल भिडन्त हुने भएको छ। घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा रहेको ज्ञानोदय र सेमिफाइनलमा तीन गोलको शानदार जित निकाल्दै आएको रातो बंगला दुवै टोली आत्मविश्वासका साथ फाइनलमा उत्रनेछन्।

गर्ल्स फुटबलतर्फ भने रातो बंगला स्कुलले त्रियोगलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। रातो बंगला सुरुदेखि नै खेलमा हाबी रह्यो। टोलीका लागि सान्वी रावलले दुई गोल गर्दा श्रीउक्ति शाह, सान्वी शर्मा र प्रशंसा कंसाकारले एक–एक गोल थपे।
रातो बंगला यसअघि पनि बलियो लयमा देखिएको थियो र त्रियोगविरुद्धको फराकिलो जितले उसको उपाधि दाबेदारीलाई थप मजबुत बनाएको छ।
गर्ल्सतर्फको अर्को खेलमा भने इस्ट पोलले आयोजक ज्ञानोदय बालवाटिकालाई २–० गोलले पराजित गरेको छ। इस्ट पोलका श्रिया खड्का र रिनछेन तामाङले एक–एक गोल गर्दै टोलीलाई जित दिलाए।
प्रतियोगिताको आगामी फाइनलमा भने गर्ल्सतर्फ रातो बंगला स्कुलले एभीएमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यससँगै ३२औँ स.बल ज्ञान कार्निभलको फुटबलतर्फ उपाधि भिडन्तको तस्वीर स्पष्ट भएको छ।
ब्वाइजतर्फ आयोजक ज्ञानोदय र रातो बंगला तथा गर्ल्सतर्फ रातो बंगला र एभीएमबीच हुने फाइनलले प्रतियोगिताको रोमाञ्चकता थप बढाउने अपेक्षा गरिएको छ। उपाधि घरमै राख्ने ज्ञानोदयको लक्ष्य सफल हुन्छ वा रातो बंगला दुवै विधामा उपाधि कब्जा गर्ने दिशामा अघि बढ्छ—अब सबैको नजर फाइनल भिडन्तमा केन्द्रित भएको छ।
