नेपालमै पहिलोपटक आयोजना भएको प्रतियोगिता पीएसए नेपाल सेटलाईट स्क्वासमा दीपकको विजयी सुरुवात

काठमाडौँ,भदौ ६ गते ।
नेपालमा पहिलोपटक आयोजना भएको ‘पीएसए नेपाल सेटलाईट स्क्वास प्रतियोगिता–२०२६’ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य धनञ्जय रेग्मी र नेपाल स्क्वास र्‍याकेट्स संघका अध्यक्ष ध्रुवबहादुर गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरेर गरेका हुन्।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सांसद धनञ्जय रेग्मीले प्रतियोगितामा सहभागी नेपाली तथा विदेशी खेलाडीहरूलाई खादा लगाएर सम्मान तथा स्वागत गरेका थिए। उनले विदेशी खेलाडीको सहभागिताले नेपाली स्क्वास खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर मिल्ने उल्लेख गर्दै प्रतियोगिताको सफलताको शुभकामना दिए।

नेपाल स्क्वास र्‍याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित स्क्वास कोर्टमा सुरु भएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया, इटाली र बेलायतका १६ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

उद्घाटन कार्यक्रममा सांसद रेग्मीले नेपालमा स्क्वास खेलको विकास र अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीको प्रदर्शन सुधारका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले खेलाडीलाई आवश्यक प्रशिक्षण र अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए।

सांसद रेग्मीले सरकारी प्रक्रियाका कारण स्क्वास प्रशिक्षक नियुक्त हुन नसकेको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै प्रशिक्षक नियुक्तिसम्बन्धी समस्या समाधानका लागि पहल गर्ने आश्वासनसमेत दिए। उनले यसै हप्ताभित्र सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

उद्घाटनपछि सुरु भएको प्रतियोगितामा नेपालका दीपक थापाले विजयी सुरुवात गरेका छन्। दीपकले बंगलादेशका बरुआ दुर्जयलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेका हुन्।

दीपकले पहिलो सेट ११–७ ले जितेका थिए। दोस्रो सेट भने बरुआले ११–९ ले आफ्नो पक्षमा पारे। त्यसपछि दीपकले उत्कृष्ट पुनरागमन गर्दै तेस्रो सेट ११–४ र चौथो सेट पनि ११–४ ले जितेपछि खेल ३–१ ले आफ्नो पक्षमा पारे।

अन्य खेलमा मलेसियाका अबिनाश अनबसुले नेपालका सरोज लामालाई ३–० को सोझो सेटमा पराजित गरे। अनबुसले पहिलो सेट ११–६, दोस्रो ११–३ र तेस्रो सेट ११–४ ले जिते।

त्यस्तै, श्रीलंकाका नेभिन्दु लक्मनले इटालीका रेन्जो एन्डोर्नोलाई ३–० को सोझो सेटमा पराजित गरे। नेभिन्दुले पहिलो सेट ११–७, दोस्रो ११–५ र तेस्रो सेट ११–६ ले जित्दै सहज जित निकाले।

प्रतियोगिता मंगलबारसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेलहरू बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म तथा बेलुका ४ बजेदेखि राति ७ बजेसम्म सञ्चालन भइरहेका छन्।

प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ। विजेताले ४ सय अमेरिकी डलर तथा उपविजेताले २ सय अमेरिकी डलर प्राप्त गर्नेछन्। यस्तै, सेमिफाइनलमा पुग्ने दुई खेलाडीले जनही १ सय तथा क्वार्टरफाइनलमा पुग्ने खेलाडीले जनही ५० अमेरिकी डलरसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

संघका अध्यक्ष ध्रुवबहादुर गुरुङले नेपालमा स्क्वास खेलको पहुँच विस्तार गर्न प्रदेशस्तरमा स्क्वास कोर्ट निर्माण गर्ने योजना अघि सारिएको बताए। राजधानीमा मात्र सीमित रहेको स्क्वास खेललाई देशभर विस्तार गर्ने र युवालाई यस खेलतर्फ आकर्षित गर्ने उद्देश्य रहेको उनको भनाइ छ।

उनले स्क्वासको पूर्वाधार विस्तारसँगै नियमित प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर बढाएर सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्य संघले लिएको बताए। अध्यक्ष गुरुङले स्क्वास खेलको विकासका लागि सरकारले अपेक्षाअनुसार सहयोग नगरेको गुनासो गर्दै पूर्वाधार, प्रशिक्षक र प्रशिक्षणका लागि सरकारी सहयोग आवश्यक रहेको बताए।

नेपालमा पहिलोपटक आयोजना भएको पीएसए सेटलाईट प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको छ। प्रतियोगितामार्फत नेपाली खेलाडीले अन्तर्राष्ट्रिय अनुभव हासिल गर्नुका साथै नेपालमा स्क्वास खेलको व्यावसायिक र प्रतिस्पर्धात्मक विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ