आयोजक काष्ठमण्डपसहित जोन डेवी र भक्तपुर निस्ट च्याम्पियन

काठमाडौं, साउन २९ गते ।
काष्ठमण्डप विद्यालयको आयोजनामा सञ्चालन भएको दोस्रो क्युकेएस (क्वालिटी काठमाडौं स्कुल) अन्तरविद्यालय फुटसल प्रतियोगिताको विभिन्न उमेर समूहका फाइनल खेल शुक्रबार सम्पन्न भएका छन्। मण्डिखाटारस्थित काष्ठमण्डप विद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगितामा आयोजक काष्ठमण्डपसहित जोन डेवी स्कुल र भक्तपुर निस्टले आ–आफ्नो विधामा उपाधि जितेका छन्।

प्रतियोगिताको जुनियर ब्वाइजतर्फ आयोजक काष्ठमण्डप च्याम्पियन बनेको छ। फाइनल खेलमा काष्ठमण्डपले प्रज्ञा कुञ्जलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। सुरुदेखि नै आक्रामक र संयमित खेल प्रस्तुत गरेको काष्ठमण्डपले खेलमा आफ्नो पकड कायम राख्दै चार गोल गर्न सफल भयो। प्रज्ञा कुञ्जले एक गोल फर्काए पनि काष्ठमण्डपको बलियो प्रदर्शनलाई रोक्न सकेन।

सिनियर गल्र्सतर्फ जोन डेवी स्कुलले प्रभावशाली प्रदर्शन गर्दै इम्पेरियल वल्र्डलाई ६–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ। खेलको सुरुदेखि नै दबाब सिर्जना गरेको जोन डेवीले लगातार गोल गर्दै फराकिलो जित निकाल्यो। इम्पेरियल वल्र्डले खेलमा फर्कने प्रयास गरे पनि जोन डेवीको आक्रमण र रक्षापंक्तिसामु प्रभाव जमाउन सकेन।

त्यसैगरी सिनियर ब्वाइजतर्फ भक्तपुर निस्टले कान्जिरोवालाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। प्रतिस्पर्धात्मक खेलमा भक्तपुर निस्टले दुई गोल गर्दै अग्रता बनाएको थियो। कान्जिरोवाले खेलमा फर्कन विभिन्न प्रयास गरे पनि भक्तपुर निस्टको रक्षापंक्ति र गोलरक्षकलाई पार गर्न नसक्दा उपविजेतामा सीमित भयो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा गोलरक्षकलाई विभिन्न विधामा व्यक्तिगत पुरस्कारसमेत प्रदान गरिएको थियो। जुनियर ब्वाइजतर्फ काष्ठमण्डपका सिद्धार्थ बज्राचार्य उत्कृष्ट खेलाडी घोषित भए। काष्ठमण्डपकै आयुष रेग्मीले उत्कृष्ट गोलरक्षकको पुरस्कार प्राप्त गरे भने काष्ठमण्डपकै शिवांक राज भट्टराई उदीयमान खेलाडी घोषित भए।

सिनियर गल्र्सतर्फ जोन डेवीकी तनिष्का बिष्ट उत्कृष्ट खेलाडी घोषित भइन्। इम्पेरियल वल्र्डकी मान्या शाहले उत्कृष्ट गोलरक्षकको पुरस्कार प्राप्त गर्दा जोन डेवीकी जेनी स्याङ्बाले उदीयमान खेलाडीको पुरस्कार हात पारिन्।

सिनियर ब्वाइजतर्फ कान्जिरोवाका सन्चित डंगोल उत्कृष्ट खेलाडी घोषित भए। भक्तपुर निस्टका आयाम आचार्य उत्कृष्ट गोलरक्षक बने भने सोही टोलीका साईरोन कटवालले उदीयमान खेलाडीको पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक नवीन न्यौपानेको उपस्थिति रहेको थियो। त्यस अवसरमा काष्ठमण्डप विद्यालयका संस्थापक प्रिन्सिपल डा. शिवा थापा, क्वालिटी काठमाडौं स्कुलका अध्यक्ष एवं कान्जिरोवा नेशनल स्कुलका प्रिन्सिपल रञ्जित थापा तथा विशिष्ट अतिथिहरूले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

समापन समारोहमा काष्ठमण्डप विद्यालयका संस्थापक प्रिन्सिपल डा. शिवा थापाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने खेलाडी तथा विद्यालयलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले विद्यालय तहबाटै खेलाडीको प्रतिभा विकास गर्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताउँदै आगामी दिनमा पनि प्रतियोगितामा सक्रिय सहभागिता जनाउन खेलाडी तथा विद्यालयहरूलाई आग्रह गरे।

त्यसैगरी क्वालिटी काठमाडौं स्कुलका अध्यक्ष एवं कान्जिरोवा नेशनल स्कुलका प्रिन्सिपल रञ्जित थापाले खेलाडीहरूलाई खेलकुदमा निरन्तर लागिरहन आग्रह गरे। उनले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकासमा समेत योगदान पुर्‍याउने बताए।

प्रतियोगिता अवधिभर खेल सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्ने रेफ्री सोयम सेवकसहित अतिथिहरूलाई काष्ठमण्डप विद्यालयका संस्थापक प्रिन्सिपल डा. शिवा थापाले मायाको चिनो प्रदान गरेका थिए।

आयोजक विद्यालयका ईसीए इन्चार्ज सुन्दर बुढाथोकीका अनुसार प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिएको बताउनु भयो। प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १५ टोली, सिनियर ब्वाइजतर्फ १६ टोली र सिनियर गल्र्सतर्फ १२ टोली गरी विभिन्न विद्यालयका खेलाडीहरूले सहभागिता जनाएका थिए।

विद्यालय तहमा फुटसल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा नयाँ पुस्तालाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी टोलीहरूले उत्साहजनक प्रदर्शन गरेका थिए। विभिन्न उमेर समूहका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको प्रतियोगिताले विद्यालयस्तरको फुटसललाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन योगदान पुर्‍याएको आयोजकको विश्वास छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ